आगो निभाउने क्रममा एक जना जलेर मृत्यु

सुर्खेत , रुकुम पश्चिमको बुकीबारी सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा एक महिलाको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका–१० गारावाङमा आगो निभाउने क्रममा ४५ वर्षीया सर्केनी दमाईको मृत्यु भएको प्रहरीले बताएको छ ।

आगो निभाउन खोज्दा जलेकी सर्केनीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गाउँलेसँगै आगो निभाउन खटिएकी सर्केनीलाई आगोले भेटेको थियो । त्यस्तै स्थानीय गगन जैसीको गोठ जलेर नष्ट भएको छ । बिहीबार वडाको राजीखेत भन्ने ठाउँबाट सुरु भएको आगो आधा दर्जनभन्दा बढी जंगलमा फैलिएको स्थानीयबासीले बताएका छन् ।

आगो गाउँतिर फैलिएपछि स्थानीय त्रसित बनेका छन् । आगो नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले प्रयास जारी रहेको पनि बताएको छ ।