कोरोना फैलिन नदिन सिरहामा सतर्कता
लहान,छिमेकी मुलुक भारतमा कोरोनाको दोस्रो लहर शुरु भएसँगै भारतसँग जोडिएको सिरहाको विभिन्न नाकामा सतर्कता अपनाइएको छ।भारतमा तीव्र गतिमा कोरोना सङ्क्रमण फैलिन थालेपछि त्यसको जोखिम सिरहामा पनि पर्न सक्ने भन्दै भारतसँग जोडिएको सिरहाको माडर, ठाडी, बरियारपट्टी, औरही र नवराजपुर नाकामा हेल्थ डेस्क स्थापना गरिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले वताएको छ।
भारतीय बजारबाट बढी आवतजावत हुने ती स्थानमा पुनः हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य सतर्कता बढाइएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए। यसअघि गत वर्ष सोही स्थानहरूमा हेल्थ डेस्क स्थापना गरिएको थियो।कोरोनाको उच्च जोखिममा रहेको सिरहामा सङ्क्रमण फैलिन नदिन सीमा नाकामा आवतजावत गर्नेहरूको नियमित स्वास्थ्य जाँचसँगै स्वास्थ्य सतर्कता अपनाउने विधिबारे सचेत बनाउन हेल्थ डेस्क राखिएको प्रमुख यादवले बताए।
यस्तै जिल्ला प्रशासन कार्यालय सिरहाले आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरी होली पर्व घरमै मनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले सूचना जारी गरी कोरोना सङ्क्रमण कायमै रहेको र हाल नयाँ स्वरूपमा देखा पर्न थालेकाले होलीलगायतका पर्व भिडभाड नगरी घरमै मनाउन आग्रह गरेका छन्।
कोरोना सङ्क्रमणका कारण सिरहामा १२ हजार ४५० जनाको स्वाब परीक्षण गरिएकोमा १० हजार ८०२ मा नेगेटिभ तथा एक हजार ६४८ जना पोजेटिभ आएको थियो।तीमध्ये २५ सङ्क्रमितको मृत्यु भएको थियो।