दलिय द्वन्द्वको भुमरीमा नेपाली राजनीति

राजनीति नै कुनै पनि देशको मुल नीति हो।भनिन्छ खराब इतिहास दोहोरियो भने विध्वंस निम्तिन्छ र रास्ट्रले ठुलो नोक्सानी ब्यहोर्नुपर्छ। तर हाम्रो देशको राजनीतिमा बारम्बार यस्तो भैरहेको छ। २०१७ साल मा राजा महेन्द्र ले गरेको कु ले देशलाई तहसनहस र जनताका हकअधिकारहरु लाई कुल्चने काम गर्यो। आम जनताको आन्दोलनको बलमा २०४६ सालमा प्रजातन्त्रको पुन:बहाली भयो।यो संगै आम जनताले धेरै आशा र अपेक्षा गरेका थिए -प्रजातान्त्रिक नेता र योद्धाहरुसंग तर अवस्था आम जनताले सोचेजस्तो रहेन।प्रजातान्त्रिक नेता र योद्धाहरु दलिय झगडामा ब्यस्त रहे सत्ता प्राप्ति कै लागि शासनतन्त्र अपेक्षाकृत प्रजातान्त्रिक मुल्य-मान्यता अनुरुप हुन सकेन । राणाकाल र पन्चायती हुकुमी शैली हावी रह्यो प्रजातान्त्रिक शासनतन्त्रमा पनि । पन्चायती ब्यवस्थाका विरुद्ध संघर्ष गरेका काङ्ग्रेस कम्युनिष्ट नेता, योद्धाहरु पनि बदलिएनन । उल्टो पन्चायती निर्दलिय भागबन्डाको शैली देखेका नेताहरु त्यही संस्कारमै रम्न पुगे । संसदीय ब्यवस्थालाई नरुचाएको अर्थात संसदीय ब्यवस्था भनेको खसिको टाउको झुन्डाएर कुकुरको मासु बेच्ने थलो हो त्यसैले यो ब्यवस्थालाई ध्वस्त पारी नयाँ जनवादी ब्यवस्था लागू गर्नुपर्छ भनेर २०५२ फागुन १ मा नेकपा (माओवादी) को जन्म भयो।

जसमा चतुर राजनीतिक खेलाडी प्रचण्डदेखि बौद्धिक नेता लालध्वज र दार्शनिक नेता किरणसम्म अटे अर्थात ब्यवस्था विरुद्धको लडाइँमा एक भए र दीर्घकालीन जनयुद्धको घोषणा गरे। कमरेडहरुलाई हतार थियो र कमरेडहरुको बुझाइमा यथास्थितिको चुनाव प्रणाली र संसदीय राजनीतिबाट नेपालमा आमूल परिवर्तन ल्याउन सम्भावना छैन । जनयुद्धले नेपालको मुहार नै फेरिदियो। नेपालीले नेपालीलाई नै यस्तो क्रूर किसिमले,यति पाशविक ढंगले यातना दिएर मार्न सक्छन् भन्ने कुरा पत्याउन पनि गाह्रो भयो। २०६३ सालको युद्धविरामसम्म पुग्दा १५ हजार नेपालीहरुले ज्यान गुमाइसकेका थिए, हजारौं विधुवा र टुहुरा बने लाखौं आफ्नो गाउँघर बाट विस्थापित भए।मर्ने र पीडित हुनेमा धेरैजसो सर्वसाधारण नै परे। नेपालको आर्थिक असमानता र सामाजिक अन्यायको कारण क्रान्तिको वातावरण बन्दै गएको थियो।देशको सामन्ती शासन ब्यवस्थासंग गासिएको सैनिक शक्ति र त्यसमा समावेश हुन नपाएका वर्ग ,जात र लिङ्गले गर्दा नेपालमा जनयुद्ध सम्भव भयो।जनयुद्धका केहि नकारात्मक असर भए पनि समग्रमा आमूल परिवर्तन ल्यायो । जनयुद्ध सुरु भएपछि देशका सामाजिक विकृतिहरुमा सुधार आयो।छुवाछूत ,छाउपडि प्रथा धेरै ठाउमा निर्मुल भए । महिला सशक्तीकरण स्थापित भयो। समाजमा सामेल नभएका वर्गहरु समावेश हुन थाले। दसक लामो जनयुद्धले नेपाली राजनीतिक इतिहासमा ठुलो उथलपुथल ल्यायो। हामीले प्रजातन्त्र ल्यायौ , गुमायौ, फेरि लोकतन्त्र पुन:स्थापना गर्यौ। हामीले संसारको इतिहासमै कहिल्यै नभएको शाही संहार देख्यौं ,रक्ताम्य युद्ध भोग्यौ,राजाले गरेको शैनिक कु देख्यौं र त्यही राजाको पराजय पनि हेर्यौ तत्काल मात्रै नयाँ राजाको अवतारका रूपमा उदाउन खोजेका खडगप्रसाद ओलि ले पौष ५ को प्रतिनिधिसभाको घाटि निमोठेको पनि देख्यौ र जनताको सम्मानित सर्बोच्च अदालतले संसद विघटन फागुन ११ साझ बदर गरिदिए पछि खडगप्रसाद को सपना हुरिले उडाइदिएको पनि देख्यौं ।

अनेक आशङकाहरुलाइ पन्छाउदै सम्मानित सर्बोच्च अदालतले संविधानको रक्षा गरेको छ ,गणतन्त्र जोगाएको छ।वि.स.२०७७ पौष ५को असंबैधानिक संसद विघटन लाई वि.स.२०७७ फागुन ११ गते नेपालको सर्बोच्च अदालतले गरेको फैसला न्यायीक इतिहासमा सारा विश्वलाई नै एक राम्रो नजिर बन्नेछ। सम्मानित अदालतको यो फैसलाले देशको गणतन्त्र लाई गम्भीर दुर्घटना हुनबाट बचाएको छ।सर्बोच्च ले गणतन्त्र विरोधीहरु लाई ठेगान लगाएको छ। अब देशको रास्ट्रियता र लोकतन्त्रको पक्षमा रहेका सबै दलका सामु नैतिक परिक्षाको घडी शुरु भएको छ। राज्यसत्तालाई जनताको सेवामा होईन ,आसेपासे भ्रष्टहरुको सेवामा लगाउने गरेको खडग ओलि पक्षबाट दाहाल- नेपालले नेतृत्व गरेको नेकपालाई कमजोर बनाउन अनेक प्रयास भए। खडग ओलिले आफू प्रधानमन्त्री हुनका लागि मात्रै पार्टी एकता गरेका रहेछन् भन्ने कुरा घाम जस्तै छर्लङ्ग भैसकेको छ। तीनवर्षसम्म उनले पार्टी एकताको कामलाई अगाडि बढन दिएनन् । तर अब प्रचण्ड-माधवले नेतृत्व गरेको र बहुमत रहेको पार्टीमा बाकी एकताको कामलाई कसरी अगाडि बढाउछन त भन्ने प्रश्न अगाडि तेर्सिएको छ। मापदण्ड र विधि नमान्नु खडग ओलि प्रवृत्ति हो भने त्यसका विपरीत आफुहरुले नेतृत्व गरेको नेकपाको बहुमत पक्षलाई मापदण्डका आधारमा एकीकृत गर्नका लागि दृढ़ भएर उभिने नैतिक साहास प्रचण्ड -माधव पक्षले देखाउनै पर्छ।साथै यहाँ बुझ्नुपर्ने कुरा खडग ओलि नाम मात्रै होइन ,विकृती र विसङगतिको एक प्रवृत्ति हो।आफुले गरेका काम सबै ठिक भन्नू तथा आफूबाट गल्ती हुनै सक्दैनन भन्ने मान्यता राख्नु खडग ओलि प्रवृत्ति हो। खडग ओलिलाई आफ्नै गनगन गरिराख्ने आसेपासेले डुवाए भने त्यही प्रवृत्तिका मानिसहरु कतै आफ्नै नजिक त छैनन् भनेर प्रतिगमनको विरुद्ध आन्दोलन गरि विजय प्राप्त गरेको नेतृत्वले पनि सोच्नै पर्दछ।बहुमत पक्षले बुझ्नुपर्दछ सानो प्रयास ले मात्रै गतिलो पार्टी बन्दैन सहि माक्र्सवादी -लेनिनवादी पार्टी बनाउनका लागि म , मेरो भन्ने प्रवृत्तिबाट माथी उठने नेतृत्वले मात्रै अबको युगको नेतृत्व गर्न सक्छ र देशलाई तुफान गतिमा हाक्न सक्छ।

नेपाली राजनीतिको तापमानमा खासै स्थिरता छैन । तापमान कहिले तिब्र बढ्ने त कहिले स्वात्तै घट्ने भैरहेको छ। राजनीतिक आकाशमा थरीथरीका काला बादल अझै मडारिरेका छन् । कहिले खडेरि त कहिले बाढि पहिरो,कहिले हिमपात त कहिले असिनापानी निरन्तर जारी छ नेपाली राजनीतिमा। स्वभाविक रूपमा अग्रगामी सामाजिक रुपान्तरण बिना शान्ती ,स्थिरता र समृद्धि असम्भव छ। अझ पछिल्ला राजनीतिक घटनाक्रमहरुले प्रतिगमन ,अस्थिरता,अशान्ति र पराधिनता झन निम्त्याउने खतरा बढेर गएको छ।

संसदीय राजनीति यति घिनलाग्दो तरिकाले खेलिदोरहेछ भन्ने कुरा हाम्रा नेताहरु ले बारम्बार पुष्ठि जस्तै गरिदिएका छन् ।रातो पासपोर्ट दुरुपयोग गर्नेदेखि घुस माग्नेसम्मका सांसद देखापरे।सर्बोच्च अदालतबाट कर्तव्य ज्यान मुद्दामा सजाय पाएका बालकृष्ण ढुंगेल अहिले खडगप्रसाद को जयजयकार गरेर हिडिरहेका छन।कोहि सांसद यौनकर्मी संग भेटिए ,कोहि चोरिको गाडीमा फेला परे। कोहि जुवा खालबाट समातिए आदिआदी थुप्रै बिकृतिहरु यो संसदीय कालखण्डमा देखिए।

पन्चायतको अन्तिमसम्म सिद्धान्त र बिचारको लडाइँ हुन्थ्यो काङ्ग्रेस र कम्युनिष्टमा तर प्रजातन्त्र पछि उनिहरुले सिद्धान्त र आदर्श होइन ,सत्ता-स्वार्थको लडाइँमा समय खर्चिए।पन्चायती दिनका बेइमान,भ्रष्ट ,दलाल ,माफिया ,तस्करहरु प्रजातन्त्रवादी नेताहरुको बार्दलिमा पुगे।तिनै पात्रहरु गणतन्त्र स्थापना पछि गणतन्त्रवादी नेताहरुको वार्दलिमा पुगे। अहिले झनै यो प्रवृत्ति झागिदोक्रममा छ।त्यस्ता पात्रहरु बढी क्रान्तिकारी कुरा गर्छन् ।पार्टी नेतृत्वले जे निर्णय गर्छ,त्यसमा असहमति जनाउदैनन। उल्टो तिनको निर्णयको तारिफ गरेर नेतृत्वप्रती बफादार बन्छन् ।नेताहरुको विचारमा होमा हो मिलाएर नेतृत्वलाई खुसी पार्न माहिर हुन्छन् । त्यस्ता पात्र नेतृत्वप्रती भक्तिभाव प्रदर्सन मात्रै गर्दैनन कि तारिफ गरि नेतृत्वप्रती अति बफादारपन देखाउछन। त्यसैले छिटो नेतृत्वसंग घुलमिल भएर ब्यक्तिगत फाइदा लिन सफल हुन्छन् ।जो प्रवृत्ति अहिले सतहमा छताछुल्ल भएको छ ओलि बाका नाममा गरिएको स्तुतिगान।

त्यसैले अहिले राजनीतिक सतहमा देखापरिरहेका दुर्गन्धमा बाछीटा लाई सहि तरिकाले हल गर्दै शुद्धीकरण अभियान चलाउन जरुरी छ। नेपाली समाज र नेपाली राजनीतिको अग्रगमनका लागि अब नयाँ नेतृत्व ,नयाँ विचार र नयाँ प्रक्रिया आवस्यक भैसकेको छ।