व्यापारी दुगडको योजनामा ओलीले सारे पार्टी कार्यालय

काठमाडौँ,नेकपा एमालेको केन्द्रीय कार्यालय थापाथली हाइटस्थित उमंगमार्गमा रहेको सञ्जय अग्रवालको घरमा सर्ने निर्णय भएको छ। बुधबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त स्थान निरिक्षण गरेका हुन।यसअघि धुम्बाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानको स्वामित्वमा रहेको भवनमा पार्टी कार्यालय थियो। चक्रपथ विस्तारका क्रममा कार्यालयमा आउजाउ गर्न कठिन हुने भएकाले धूम्रबाराहीस्थित पार्टी मुख्यालय थापाथलीमा सर्न लागिएको स्रोतको भनाई छ।

पौने चार रोपनी क्षेत्रफलमा फैलिएको स्थानमा कार्यालय भवनसहित पार्किङस्थलसमेत रहेको छ। उक्त घरमा १३ कोठा छन्। यसअघि उक्त घरमा संयुक्त राष्ट्रसंघ (युएन) वुमनको कार्यालय थियो।प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडको योजनामा पार्टी कार्यालय सारिएको बुझिएको छ। निरिक्षण क्रममा प्रधानमन्त्रीसँगै पुगेका दुगडले उक्त घर चिनजान र फेमिली रिलेसन भएको साथीको घर भएको बताएका छन्।

‘मेरो चिनजान, मेरो फ्यामिली रिलेसन भएको साथीको घर हो। भाडा हामीले केही फिक्स गरिसकेका छैनौं। जति दिन्छौं उसले लिइहाल्छ। उसलाई खासै भाडाको जरुरत छैन। पार्टीले दिनसक्ने जति दिन्छौं ।’उनले भनेका थिए।उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीसमेत भइसकेका दुगड एक विवादास्पद व्यापारी हुन्।बहुराष्ट्रिय कम्पनी पेप्सीकोले भारतमा डेढ दशकअघिदेखि नै उत्पादन गरिरहेको कुरकुरेको ट्रेडमार्क दुगड समूहले नक्कल गरेर दर्ता गराएपछिको विवाद अझै साम्य भएको छैन । अदालतमा रहेको यो मुद्दाको छिनोफानो अझै भएको छैन।