बङ्गलादेश पुगिन् राष्ट्रपति भण्डारी
काठमाडौँ,राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेश पुगेकी छन्।
राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका प्रस्थान गरेकी थिइन्।पहिलोपटक बंगलादेश भ्रमणमा गएकी भण्डारीलाई हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा समकक्षी अब्दुल हमिदले पुष्पगुच्छासहित स्वागत गरेका छन्।भण्डारी स्थानीय समयअनुसार बिहान १० बजे विमानस्थल पुगेकी थिइन्।
राष्ट्रपति भण्डारीको सम्मानमा बंगलादेशी सेनाले २१ तोपको सलामी दिएको थियो।सो क्रममा दुवै देशको राष्ट्रियगान बजाइएको थियो। राष्ट्रपति भण्डारीले सो क्रममा परेड अवलोकन गर्नुका साथै दुवै पक्षले आआफ्ना डेलिगेसन टोलीलाई परिचय गराएका थिए।सो पश्चात् उनी त्यहाँको राष्ट्रिय शहीद स्मृति, सभारमा शहीदप्रति श्रद्धाञ्जलिका लागि पुग्नेछिन्।
उनले सोमबार नै बङ्गलादेशका राष्ट्रपति हमिदसँग दुईपक्षीय भेटवार्ता गर्नेछिन् भने प्रधानमन्त्री शेख हसिनालगायतले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।