उसले आफुलाई लक गर्न सकेन

एउटा ख्याउटे पातलो शरीर नेपाली गजलको लागि केही गर्नुपर्छ भन्ने मनसायले अनलाइन भर्चुअल माध्यमको सहाराद्वारा देश बिदेशमा रहेका गजलकारहरुलाई जोडेर कार्यक्रम गरिरहेको थियो।संसार भरि कोरोनाको त्राहीमाम थियो। २०७६/१२/१०गतेबाट नेपालमा पनि लकडाउन सुरु भयो।आवश्यक काम बाहेक मान्छेलाई घरबाट निक्लने इजाजत थिएन ।पुलिसको हिरासत नपरेका मान्छेलाई आफ्नै कोठापनि हिरासतझै लाग्थ्यो।मान्छे देख्यो कि कोरोना सरिहाल्छ यस्तै लाग्थ्यो। संकटकालमा पनि बन्दको असर गाउँमा कहिल्यै परेन।सहरमा केही घण्टा दिन बन्द हुन्थ्यो पछि बजार खुलिहाल्थ्यो।मान्छे भेडा बाख्राझै घर भित्र त्यसमा पनि कोठा भित्र थुनिएर बस्नुको पीडा बयान गरेर साध्य छैन।टेलिभिजन कति हेर्नु ? फेशबुकमा कति समयसम्म आँखा दुखाइरहनु ? टेलिभिजन,रेडियो,सामाजिक सन्जाल जताततै कोरोनाको असरले मान्छे मरेका खबर मात्रै। जति समाचार हेर्यो उति मान्छेलाई निराश बनाउने खबर मात्रै।

मनोरंजन दिने कुनै माध्यम थिएन।सुदुर बझाङ्गको बिकट जिल्लाबाट गजल श्रीवृद्धीका लागि एउटा पातलो ख्याउटे शरीर उर्फ हरिश जोशी गजल उन्नयनका लागि कुइनाले पहाड भत्काएर मैदान बनाउने दुश्साहस गरिरहेको थियो।घरबाटै उस्ले अनलाइन गजलरस कार्यक्रम मार्फत पैतिसौँ वटा अनलाईन श्रृङखलाहरु सफल अवतरण गरिसकेको छ। लकडाउन केही खुकुलो भएपछि उस्को र मेरो पहिलोपटक भेट यही सुर्खेतको एरी चोकमा भएको थियो। भेटमा उस्ले भनेको थियो दाइ मलाई सुर्खेत तिरै बस्ने मेलोमेसो मिलाउनुपर्यो। मैले कोसिस गर्छु यतिमात्रै भने।अहिलेसम्म मेरो कोशिस साकार भएको छैन । जेनतेन उस्ले एकबर्ष अगाडि डोल्पा शिक्षक हुदा कमाएकै पैसाले गुजारा चलाई रहेको छ। एक्लो छ आफ्नो भन्ने उस्को यहाँ कोही छैन। आफन्त छौँ त हामी सबै उस्का आफन्त हौं।कालिकोट,दैलेख,जाजरकोटबाट गणित विज्ञान शिक्षकको लागि अवसर नआएको पनि होइन तर उ यही सुर्खेतमै जागिर गरेर नेपाली साहित्यको लागि केही गर्न चाहान्छ।उस्ले बिकट बस्तिका पिडाबाट तर्सिएर कालिकोट,डोल्पा जान नचाहेको होइन। उस्ले भिर पाखामामै जीवन बिताएको हो। भिर पाखा र दुर्गम बस्तिसंग उस्को गहिरो साइनो जोडिएको छ।उ डोल्पा हुदा चामलको अभाबमा उसिनेको आलु खाएर पेट भरेको कहानी सुनाएको छ मलाई।भटमास र सिमिले छाक टार्ने डोल्पालीहरुको अभावको कथा सुनाएको छ चिया गफमा। अभावका पहाडसँग पौठेजोरी खेलेर बिताएको डोल्पालाइ उस्ले अहिले पनि त्यतिकै घनिभुत प्यार गर्छ। लकडाउनले संसारलाई लक गरिरहेको बेला पनि उस्ले आफुलाई लक गर्न सकेन। सरकारले सभा गोष्ठिमा बन्देज लगाएकै बखत उस्ले बझाङ देखि सुर्खेत सम्म पुगेर अनलाइनमा पोखिने गजलरस सुर्खेतको मन्चमा आएर प्रत्यक्षरुपले दर्शक,श्रष्ठाहरुसंग ठोक्कियो। दोस्रो सल्यानको बागचरौरमा र तेस्रो पुन सुर्खेतमै ठोक्किएर विष्फाेट भयाे।अनलाइनमा गरिने कार्यक्रम जस्तो त्यति सजिलो छैन मन्चमा गरिने कार्यक्रम।हिजो अनलाइनको माध्यमबाट गरिने थुप्रै कार्यक्रमहरु बन्द भईसकेका छन्।हरिशले भने अनलाइन गजलरसलाई महफिलमा तब्लित गरेको छ। महफिल चलाउनु त्यति सजिलो पनि छैन।उस्का साहित्यिक पदचापहरु भोलि कसरी बढ्छन् त्यो भोलिको समय तिनै दिनहरुले निर्धारण गर्ने छन्।आज सम्म भने हरिशले हरेस खाएको छैन।

जहाँ ना पौचे रवी उहाँ पौचे कवि कालिदासले त्यसै यो कथन भनेका रहेनछन्। त्यसै गरि चितवनका एकजना गजलकारको गजलले मलाई छोएको छ।

आकास,पहाड खाडल उस्तै उस्तै ।
कवि प्रेमी पागल उस्तै उस्तै ।

बज्छन आफ्नै सुर ताल लएमा,
खैजेडी ढोलक मादल उस्तै उस्तै।

निश्चित पनि हो माथी गजलका सेरले भनेझै ब्ल्याकहोल पनि एक प्रकारको खाडल नै हो।अहिले सम्म उस्को गहिराइ के कति छ थाहा छैन कसैलाई पनि। मान्छे नजिक जानै डराउँछ। आकाशको उचाइ अझैसम्म वैज्ञानिकहरुले निश्चित पत्ता लगाउन सकेका छैनन् संसारको सबै भन्दा अग्लो हिमाल सगरमाथा हो सगरमाथाको उचाइमा पनि फेरबदल भईरहन्छ। कवि प्रेमी,पागलको स्वरुप फरक होला तर जिन एकै होकि भन्ने लाग्छ मलाई।कविता लेख्दा शब्दहरुको गहिराइमा गएर नघोत्लिए सम्म कविता हुन सक्दैन, प्रेमको मोहजालमा परेको प्रेमी प्रेमिका आफ्नो प्रेमीकाको लागि हद सम्मको काम गर्नसक्छ।त्यो गर्न आट गर्नु पनि पागलनै हुनु हो।

आफुले आफुलाई नचिन्नु हो। जुन पागलले आफुलाई चिन्न सकेको हुदैन। चेतना भएर पनि राम्रो नराम्रो चिन्ने चेतना हुदैन। फरक यति मात्रै हो साहित्यकारमा गम्भीर चेतना हुन्छ।जस्का श्रृर्जनाहरुद्वारा समाज बदल्ने ल्याकत राख्दछ। उ समाजको दर्पण पनि हो।तीन घण्टाको धुलाम्य ट्याक्टरको यात्रा त्यसमा पनि भोली आफ्नै बैनिको विबाह छ। हाम्रो समाजमा जन्तीहरुलाई माइतिको तर्फबाट दाजु भाईले नै स्वागत गर्नु पर्छ।जन्तिलाई स्वागत गर्ने जिम्मा छिमेकीको हिल्ला लगाएर आफु साहित्य कार्यक्रमको लागि भनेर भाइ भरत रोकाय सुल्यान बाट कार्यक्रमकै लागि सुर्खेत सम्म आई पुग्नुको रहस्य गम्भीर छ।उ नेपाली गजलको दिवाना हो। उ चाहान्छ नेपाली आधुनिक गजललाई केही नयाँ गरेर देखाउन। गजल प्रति यति प्रेम हुदैन थियोे भने उ बैनिको विबाहको मण्डप छोडेर सुर्खेत सम्म आउँदैन थियो होला। गजलरस कार्यक्रमको लागि सुर्खेत सम्म आएको उस्को कठिन यात्राले जरुर हामीलाई केही पाठ सिकाएको छ साहित्यलाई मलजल गर्न।

नोकरीलाई गौण र साहित्यिक कार्यक्रममा लाई प्रधान ठानेर दर्शको रुपमा सुर्खेत सम्म पुग्नु बैनि शान्ताको पनि ठूलो हिम्मत हो। लोकेश र नविनको कुरै नगरौ। पातलगंगा होमस्टेको बसाईमा खै किन हो भरत रोएको पनि थियो । मैले पनि रुन दिए,नरो मैले पनि भनिन। किन भने रोएपछि एक छिन भए पनि मन हलुङ्गो हुन्छ। सायद उस्को मनमा केही उकुसमुकुस भएर गुम्सिएका पिडाका थैलिहरु थिए होलान। खयरको चुस्कीले पिडाका थैलिहरु फुकालदियो र रोयो। पछि खुशी पनि देखियो। दाइ हामी केही गर्न सक्छौ भन्दै बहुत खुशी भएर ध्वार ध्वार गर्दै निदायो।उस्का गनाएका मोजाको गन्धले भने ढोका फोरेर भित्र सम्म बास छरिरहेको थियो। कुरै कुरामा म पनि कति खेर निदाएछु थाहा नै भएन।

हिजो भन्दा आज घाम अलि छिटो लागेको थियो। म जति अबेर सुते पनि बिहान उठ्न चाहिँ सबेरै उठ्छु।हिजो झै आज पनि म सबै भन्दा छिटो बिउझिएर उठेको थिए। कृष्ण बिरही,हरिश,लोकेश जलन,नवीन भरत बिस्तारामै घुटुमुटु परेर डल्लिएका थिए बिस्तरामा।महेन्द्र चन्द महासागर सिङ्गल पलङ्ममा एक्लै अलि सुस्त स्वरले कृष्ण बिरहीलाई धुराइको म्याथुन जित्ने कसरतमा घुरी रहनु भएको थियो। खै किन हो कुन्नी अहिले उहाँले घुराइमा चासो दिनु भएको त्यो कुरा उहाँ लाइनै थाहा ह‍ोला।

हाँस कराए, कुखुरा बासे, बटई कराए ,भाँडाकुडी बजे।बाटोमा हिड्ने घोडागाडीको आवाज सुनियो,रोडमा मान्छेहरुको पनि चहलपहल बढ्यो। घामको प्रकाश झ्यालको प्वालबाट भित्र छिरेर कोठाको भित्तामा ठोक्कियो।प्रकाशले कोठै उज्यालो भएपछि सबैलाई नउठी करै लागेन। सबै उठ्यौ बिहानको नित्य कर्म संगै हामी कार्यक्रम स्थल तर्फ।कार्यक्रम गर्ने ठेगान १ बजेनै हो दर्शक छिटो आउलान र छिटो कार्यक्रम शुरु गरौला भन्ने हरिश लगायत हामी सबैको प्लानले गम खायो। यस पालि पनि कार्यक्रम तोकिएकै समयमा सन्चालन हुन सकेन यथार्थ यो हो कार्यक्रम भने निर्धारित समय भन्दा छिटोनै सकियो।हरिश निरास, महेन्द्र जी निरास,विरही निरास,सुदामा निरास,पहल निरास आज त म पनि निकै निरास भए।निर्धारण गरिएको समय भन्दा समय बेसी घर्कियो मान्छेहरुको अत्तो पत्तो छैन। महफिल गजब हुन्छ भनेर हिजो आसा साँकी र लोकेन्द्र बोहोराको अगाडि फुर्ति बहुत लगाएको थिए मैले।मान्छे नहुनुको कारण पछि थाह भयो नेपाल प्रहरीको लिखित परिक्षा र विश्वबिद्यालयको परीक्षा प्रमुख कारण रहेछ। जे होस १ बजे पछि मरेको आश बौडियो आधा भन्दा बेसी दर्शकहरुको हलमा आगमन भयो।

आधुनिक गजलका अभियान्ता बाबू त्रिपाठीको कार्यक्रम गर्ने शैलि नै बजोड छ।दुब्लो शरीर लिएर मन्चमा उभिनुभयो।वजनदार बोल्ड आवाजले हलनै थर्कियो। प्रमुख अतिथी डा.महेन्द्रकुमार मल्ल, बाङ्गमय चौतारी नेपालका अध्यक्ष दाजु गणेश भक्त गौतम, लक्षमण कँडेल,देवकी तिमिल्सिना,रमेश कुसुम कोकिला सिंह,लोकेश जलन, भरत रोकाय लगायतको अतिथि आसन ग्रहन पश्चात्।राष्ट्रिय गानमा उठ भन्नू पर्दैन भन्ने ब्यङ्ग्यात्मक शैलीबाट राष्ट्रिय गानको धुन संगै कार्यक्रमको शुभारम्भ भयो सवै जुरूक्क उठे।रक्षाको छोटो मीठो स्वागत मन्तव्यबाट कार्यक्रम अघि बढ्यो।सम्मानित श्रष्टा द्वय ऋषि शर्मा सुदामा र पंतिकारलाइ मध्यपश्चिमन्चल विश्वविद्यालयका पुर्व रजिस्ट्रार डा.महेन्द्र कुमार मल्ल सरको हातबाट सम्मान पत्र ग्रहण गर्ने अवसर प्राप्त गरिरहदा कहिल्यै भावुक नहुने पंतिकार खै किन हो आज भावुक भयो।मेरा आँखाका कुनाबाट आँसु रसाए।

सुदामा ऋसीलाई कस्तो अनुभव भयो उहाँलाई भने मैले सोध्न सकिन।सबै चिज चाहेर पनि देखाउन मिल्न नसकिने रहेछ।अब पालो थियो,नवराज कुन्दन,लोकेन्द्र बोहोरा परिवर्तन, आसा साँकी बलाएर र महेन्द्र चन्द महासागरलाई गजलबाट सुन्ने।कार्यक्रम सन्चालक मित्र बाबू त्रिपाठीले जसैगरी कर्णाली प्रदेशको जिल्ला कालिकोटबाट नवराज कुन्दनको नाम के उच्चारण गरे कुन्दन आफ्ना गजलका सेरबाट कर्णालीका छाल झै उर्लिए र सेर बोल्यो।

कहाँ कहाँ अल्झिएर कोको खस्छन हेरिराख।
एउटा महापुरुष खस्यो पेटिकोटमा अल्झिएर।

मान्छेको पहिचान भन्नू इज्जत हो। इज्जत कमाउन जिन्दगी भर लाग्छ तर इज्जत गुमाउन समय लाग्दैन। देश बनाउने राजनेताहरु किन स्त्री मोहमा लमपट भएर बर्षौ लगाएर कमाएको इज्जत एकैछिन गुमाउँछन्।उनका गजलका सेरहरु देश बनाउने नेताहरुप्रति लक्षित थियो ।

बोतल दिनु भो अब चुरोटको ठेली दिनुहोस,
साउनी मलाई पनि मृत्युको कोशेली दिनुहोस।

मृत्युको पाठशाला पुगेर जीवन पढ्ने रहर छ,
मलाई कसैले यो भिरबाट धकेली दिनुहोस।

कुन्दनलाई थाहा छ जीवन के हो कसरी बाच्नु पर्छ।जिउदो भएर मरेको जीन्दगी बाँच्ने जिउँदा लासहरु यो समाजमा थुप्रै छन्। राज्यले गाँस बाँस कपास स्वास्थ शिक्षा रोजगारको ब्यबस्था मिलाउने राज्यको कर्तब्य हो। तर यो देशले आफ्ना नागरिकलाई सुरक्षित गर्न सकेको छैन। गरिविको अभाबले एक छाक टार्न नसक्ने मान्छेहरु छन्। यसरी बाच्नुको अर्थनै के हुन्छ र बरु यसरी बाँच्नु भन्दा मर्नु नै बेस ठान्दै भिरबाट कसैले धकेली देओस भन्ने उनी कामना गर्छन्। यो बेरोजगारी पिडालाई राज्यले कसरी बुझ्ने ?त्यसैगरी अर्को पालो थियो सुदुर बझाङ्गका युवा गजलकार भाई लोकेन्द्र बोहोरा परिवर्तन।

केटो जोसिलो छ अल्लारे जस्तो पनि तर शब्दमा उस्ले देश बोकेर हिडेको छ। छातिमा माटोको माया बोकेर हिडेको छ।समाजमा घटेका घटनाहरुलाई सेरहरु मार्फत ऐना बनाएर सबैको मन लुट्न जानेको छ। जंगलको शेरबाट मान्छेहरु डराउछन् उस्का गजलका सेरलाई तालि बजाएर प्रेम गर्छन।अनि यसरी पोखिन्छ ऊ।

पढन पठाएको छोरो अम्मली बनेर फर्कियो
अब यो गाउँबाट कसैले छोरा बजार राख्दैन।

गाउँमा आफैले खाई नखाई गरिब बाले सुनौलो सपना बुनेर छोरोलाई बाले पढनको लागि सहर पठाउछ तर त्यही कुलतमा फसेर जब छोरो घर आउँछ अनि बाउले के सोच्दो हो । हिजो मदिरा बिँडी चुरोट बाट दुर रहने छोरो आज ड्रगको नसामा छोरालाई झुम देखे पछि कुन बाउको मन सहर प्रति खिन्न हुन्न र।

एक कप चियाको पनि हिसाब राख्छ मालिक,
ध्यु मह पसिनाको हिसाब चौकिदार राख्दैन।

गाउँ जस्तो सहर हुदैन सहरले हरेक बस्तुलाई रुपैयाँसँग जोड्छ जो मान्छेसँग रुपैयाँ छ सहरले उसैलाई चिन्छ जो मान्छे सँग रुपैया छैन उस्लाई सहरका कुकुरले पनि चिन्दैन।गाउँमा आएको नयाँ मान्छेले पानी मागेको खण्डमा गाउँमा दूध मह दिएर उसको स्वागत गरिन्छ तर सहरमा प्यासले मान्छे मर्नै थाल्यो उस्ले निशुल्क पानी पाउँदैन। मर्नुको बिकल्प छैन उ शहरमा सबै चिजको मोल पैसामा अडेको छ भन्छन् सायर।अब पालो थियो डडेल्धुराकी गजल मन आशा साँकी बलाएर।नारी गजलकारमा उनी एक अब्बल गजलकार हुन।उनी पनि के कम गजलका सेरबाट सेती बनेर कुर्लि हालिन।

मर्नेबेलासम्म गोजी छाम्दै ल मर्नुहुन्छ,
भन्नुहुन्छ, मलाई पैसाको अहम छैन।

आमाको हुन सकेनौ,देशको हुनसकेनौँ,
मलाई पनि तिम्रो हुने मन कसम छैन।

मानव सेवा धर्मलाई गौण ठानेर पैसालाई सबै थोक सम्झने , जन्म दिने आमा र आफु जन्मिएको ठाउँप्रति अनुउत्तरदायी हुने प्रेमी नै किन नहोस उस्लाइ स्विकार नगर्ने कुरा शेरहरुबाट बोलिन।तालीका स्वरहरुले हल नै गुन्जायमान भएको थियो।
फेरि उद्घोषक बाबू त्रिपाठीले दुई गजल वाचन गर्न सुर्खेतकै गजलकार महेन्द्र चन्द महासागरलाई बोलाउनु भयो र महासागर यसरी सेरबाट प्रस्तुत भए।

छोरो जन्मेको दिन बाउले खसी काटेका थे,
आज को जन्मियो खै छोराले बाउ काट्यो।

आमा बाको माया छोराछोरी माथी, छोराछोरीको माया ढुङ्गा माथि भन्ने कथन त सबैले सुनेकै हो। तर धन दौलत र स्वार्थको लागि सन्तानले आमा बा काटेका घटनालाई महासागरले गजलका सेरबाट सुन्दर तरिकाले पस्कनु चानचुने कुरा होइन। शेर सुने पछि मान्छे भावुक पनि भए। हुटिङ्ले हल पनि थर्क्यो। नेपाली गजलका ब्रान्डनै हुन महासागर उनका गजल जति सुने उति सुनी रहन मन लाग्छ। उनका गजलका शेरमा छुट्टै आन्चलिकता पाइन्छ।कार्यक्रम सुनीरहुँ सुनिरहुँ भईरहेको थियो तल दर्शक दिर्घाबाट वन्समोर वन्समोरको हुटिङ्ग भईरहेकै पेरिफेरिबाटै कार्यक्रम समापनको लागि कार्यक्रमको अध्यक्षता गरिरहेका हरिशको नाम उच्चारण गर्दै मित्र बाबू त्रिपाठीले बिटमार्नु भयो कार्यक्रमबाट।यसरी हरिश भावुक भएको मैले कहिल्यै देखेको थिएन खै किनहो आज उ भावुक हुँदै आँसु बगायो।

केही दिनपछि भेट हुँदा असिम अटो पार्टसका सन्चालक उद्योग बाणिज्य संघ सुर्खेतका महासचिब लक्ष्मण कँडेल सर उ भक्कानिएर आँसु खसालेको कुरापछि मलाई सेर गर्नु भएको थियो।अतिथि आसनग्रहण गरिरहेका अतिथीहरु पनि निकै गौण भएर उस्का कुरा सुनी रहेका थिए। कार्यक्रम पट्यार लाग्दो नभएर सकिएको कार्यक्रम मध्य एक यो कार्यक्रम पनि हो।बिशेषतः नेपाली आधुनिक गजललाई ज्यान दिनको लागि हरिशको योगदान रहने नै छ।

उ सुदुर पश्चिमबाट सुर्खेतमा सम्म आएर अहोरात्र गजलकै लागि न भोक, न प्यास,न थकान भनी खटिनुको भोगाई कम्ता छैन। कि देख्नेलाई थाहा हुन्छ कि भोग्नेलाई।इतिहासले पनि उनिहरुकै परीक्षा लिइरहेको हुन्छ। हरिस यति भन्छु।ईतिहास बनाउन त्यति सजिलो छैन। संघर्षको अनभुति नगरी पाएको सुख्खको जिन्दगी के जिन्दगी यार अदम्य साहस लिएर बढ ईतिहास उसैको पक्षमा हुन्छ ।अन्ततः कार्यक्रम बेजोड रुपले समापन भयो।