काठमाडौँ,जबर्जस्ती करणीको झुटो उजुरी दिने महिला ‘हनी ट्र्याप’ मा पारेर रकम असुली गरेको आरोपमा पक्राउ परेका छन्।होटलमा सँगै बसेको फोटो भिडियो देखाएर ब्ल्याकमेलिङ गरी रकम लिएर ठगी गरेको आरोपमा प्रहरीको अपराध महाशाखाले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० घर भएकी ३७ वर्षकी लालसरी शाहीलाई पक्राउ गरेको हो।
लालसरीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका कर्मचारी खेमराज शर्मालाई फसाउने नियतले होटलमा भेट्न बोलाई उनीविरुद्ध गत असोज ६ गते प्रहरीमा जबर्जस्ती करणी मुद्दामा जाहेरी दिएकी थिइन्। तर उक्त मुद्दामा सुर्खेत जिल्ला अदालतले लालसरी शाहीलाई ३ वर्ष ६ महिना जेल सजायको फैसला गरेको अपराध महाशाखाका एसपी कृष्ण कोइरालाले जानकारी दिए।
लालसरीसँगै प्रहरीले सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० कै ३७ वर्षकी कल्पना शाहीलाई पनि पक्राउ गरेको छ।प्रहरीका अनुसार लालसरीले कामको सिलसिलामा चिनजान भएका काठमाडौं कोटेश्वरका एक ५२ वर्षका पुरुषलाई सुन्धारास्थित होटलमा बसेका बेला आफ्नो सबै पैसा हराएकाले समस्यामा परेको भन्दै सहयोगका लागि बोलाएकी थिइन्।
त्यस क्रममा पुरुषको हात समाउनेलगायतका काम गरी साथीलाई फोटो खिच्न लगाएको र पछि त्यही भिडियो देखाएर पैसा मागेको प्रहरीले जनाएको छ । ती पुरुषले पटक पटक गरी ३ लाख २ हजार ५ सय दिएको र थप ८ लाख मागेपछि प्रहरीमा उजुरी दिएको एसपी कोइरालाले जानकारी दिए।
लालसरी र उनकी साथीले ब्ल्याकमेलिङ गर्ने हेतुले भिडियो बनाउने, रकम माग गर्ने, रकम पाउन छाडेपछि फेरि भिडियो सार्वजनिक गरिदिने धम्की दिने र बलात्कार आरोपसमेत लगाएर रकम असुल गरेको पाइएको उनले बताए।