जिउँदै मान्छे पुर्ने डोजर चालक पक्राउ
धादिङ,गत फागुन २७ गते धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ की ४५ वर्षीया सरस्वती कुमाल जिउँदै पुर्ने जेसिबी चालक भीमबहादुर बुढाथोकी पक्राउ परेका छन्।घटनापछि फरार भएका अभियुक्त बुढाथोकीलाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका डिएसपी अनिल घिमिरेको टोलीले भारतबाट पक्राउ गरी नेपाल ल्याएको छ। सिआइबीले आजै पत्रकार सम्मेलन गरी अभियुक्त सार्वजनिक गर्ने तयारी गरेको छ।
फागुन १७ गते सोमबार दिउँसो साढे २ बजेतिर त्रिपुरासुन्दरी १ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा एक्स्काभेटरले घाँस बोकेर घरतर्फ फर्किदै गरेकी कुमाललाई ठक्कर दिएको थियो।ठक्करपछि कुमाल खाल्डोमा खसेकी थिइन्। एक्स्काभेटर चालक भीमबहादुर बुढाथोकीले उद्धार गर्नुको साटो कुमाल खसेको खाल्डोमा वरिपरिको माटो खनेर पुरिदिएका थिए।काठमाडौंबाट सल्यानटार हुँदै आरुघाटतर्फ आउँदै गरेको बसका यात्रुले एक्स्काभेटरले मान्छे पुर्यो भन्दै हल्ला गरेपछि चालक बुढाथोकी भागेका थिए।त्यतिबेला सडक मजदुर भने खाना खाँदै थिए।
पछि तिनै मजदुरले खनेर कुमालको शव झिकेका थिए।शव घोप्टो परेको अवस्थामा भेटिएको थियो।टाउकोमा ठूलो घाउ र रगत पनि देखिएको थियो।घटनापछि उत्तेजित भीडले हरितारा कन्स्ट्रक्सनले प्रयोगमा ल्याएको उक्त एक्स्काभेटरमा ढुंगामुढा र आगजनी गरेको थियो । आगजनीबाट एक्स्काभेटर क्षतिग्रस्त भएको थियो।