सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकन जान्छौँः प्रचण्ड

काठमाडौं,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनमा जाने जनाएका छन्।‘रिफ्रेस’ हुन सिन्धुली पुगेका अध्यक्ष प्रचण्डले बिहिबार कार्यकर्ताहरुसँगको छलफलमा चाँडै नै उक्त फैसलाविरुद्ध पुनरावलोकनमा जाने जनाएका हुन्।

‘संसद पुनःस्थापनापछि ‘रिल्याक्स’ गरेको बेला सर्वोच्चले पार्टी फुटाइदियो। हामीलाई टाउकोमा ड्याम्म हान्याजस्तो भएको छ।चाँडै नै उक्त फैसलाविरुद्ध पुनरावलोकनमा जानेछौँ।प्रचण्डले कार्यकर्ताहरुसँग भने।उनले सर्वोच्चको फैसला सोच्दै नसोचेको आएकोसमेत बताए।फागुन २३ गते सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषि कट्टेललाई दिएर केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज गरिदिएको थियो।

साथै, चाँडै नयाँ सरकार गठन हुने उनको भनाई छ।‘कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्व लिएर नयाँ सरकार बनाउने चर्चा पनि चलिरहेको छ, पहिले पनि कांग्रेस र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गरी निर्वाचन सम्पन्न गराएकै हो।’ प्रचण्डले भने।उनले आफू र माओवादी केन्द्रको प्रधानमन्त्रीमा दाबी नरहेकोसमेत स्पष्ट पारे।