ओलीजी अनुयायी खटाउनै पर्दैनः माधव पक्ष

काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भोली र पर्सि आयोजना गरेको राष्ट्रिय भेलामा प्रमुख अतिथि बनेर सहभागी हुन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुरोध गरेको छ।

चैत ४ र ५ गतेका लागि आयोजना गरिएको राष्ट्रिय भेलाबारे जानकारी दिन ललितपुरको सानेपास्थित हेरिटज गार्डेनमा आयोजित पत्रकार सम्मेलनमा नेता योगेश भट्टराई प्रधानमन्त्री ओलीलाई भेलामा सहभागी हुन आग्रह गरेका हुन्।

‘ओलीजीले आफ्ना अनुयायीलाई भन्नुभएको रहेछ। हाम्रो कार्यक्रमको नजर लगाउनू भनेर, परिचयसहित आए हुन्छ स्वागत छ। यो भेला पनि तपाईंकै हो।बरू तपाईं नै प्रमुख अतिथि भएर भेलाको उद्घाटन गर्नुहोस् कसैलाई खटाउनै पर्दैन। आफैं आउनुहोस्।’ भट्टराईले भने।

मंगलबार नै बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भोलिको भेलामा नजर रहने बताएका थिए।भेलामा २ हजार बढी नेता–कार्यकर्ता सहभागी हुने भट्टराईले बताए।सम्पूर्ण तयारी पुरा भएको भन्दै भेलामा पार्टी केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र पेश गर्दै पारित गरिने उनले बताए।