सडक निर्माणमा उल्लेख्य उपलब्धी हासिल गरेका छौं : प्रधानमन्त्री
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सडक निर्माणको क्षेत्रमा सरकारले उलेख्य उपलब्धी हासिल गरेको दावी गरका छन् । उनले अब बन्ने सडक अत्यन्तै प्रभावकारी हुने दावी गरे । प्रधानमन्त्री निवास बालुवाटारमा प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले सङ्घ, प्रदेश र पालीका तीनै तहको सरकारले अब बनाउने सडक अत्यन्तै प्रभावकारी हुने बताएका हुन् ।
सडक निर्माणका सन्दर्भमा वर्तमान सरकारले निक्कै महत्वपूर्ण काम गरेको उनको भनाइ छ । सडकको स्तरोन्नति, विस्तार र निर्माणको क्षेत्रमा अनेक उपलब्धि हासिल गरेको प्रधानमन्त्री ओलीले दाबी गरे ।सम्बोधनकै क्रममा प्रधानमन्त्री ओलीले सरकारले तुइन विस्थापित गर्दै झोलुङ्गे पुल र अरु पक्की पुल निर्माण गरेको बताए । यस्तै प्रधानमन्त्री ओलीले राति पनि चल्ने सुविधासम्पन्न हवाई मार्ग बनाएको, अन्तर्राष्ट्रियस्तरको विमानस्थललाई सम्पन्नताको नजिक पुर्याएको बताए ।
हुलाकी राजमार्ग निर्माणको काम झण्डै ६५ प्रतिशत काम सकिएको उनको भनाइ छ । यस्तै दुर्गम ठाउँमा पक्की बाटो निर्माण गरेको उनले बताए । पक्की बाटोको अर्थ बुझाउँदै प्रधानमन्त्री ओलीले भने ‘सडकबाट गाडी नझर्ने खालको, प्राविधिक रुपमा राम्रो, पिलरहरु राखिएका बाटो निर्माण भएको छ ।’
नागरिकको जीवनको रक्षा सरकारको पहिलो प्राथमिकतामा रहेको भन्दै प्रधानमन्त्री ओलीले हरेक काममा नागरिकको जीवनलाई केन्द्र भागमा राखेर काम गरेको बताए । अहिले पक्की बाटो सुधारका लागि पनि विभिन्न मागहरु आएको उनले बताए । प्रधानमन्त्री ओलीकाअनुसार अहिलेसम्म ३९२ ठाउँबाट निवेदन प्राप्त भएका छन् ।