माओवादी केन्द्रको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ राख्न प्रस्ताव

काठमाडौं,  नेकपा (माओवादी केन्द्र) को आज (आइतबार) पार्टी कार्यालय पेरिसडाँडामा जारी केन्द्रीय कमिटी वैठकमा दलको नाम फेर्नेबारेमा पनि चर्चा भएको छ ।

नेकपा (माओवादी केन्द्र) ले पार्टीको नाम परिवर्तन गरेर नेपाली कम्युनिष्ट पार्टी राख्ने प्रस्ताव गरेको छ । जारी बैठकमा पार्टीको नाम परिवर्तन गरेर नेपाली कम्युनिष्ट पार्टी राख्न औपचारिक रुपमा प्रस्ताव गएको एक नेताले जानकारी दिएका छन् ।

बुधबार र बिहीबार बसेको पार्टी स्थायी कमिटी बैठकमा पार्टीको नाम परिवर्तन गर्ने विषयमा सहमति जुटेको र सोही नाम आजको केन्द्रीय समिति बैठकमा पेस गरिएको ती नेताले जानकारी दिएका छन् । ‘स्थायी समिति बैठकमा पार्टीको नाम फेरेर नेपाली कम्युनिष्ट पार्टी राख्ने विषयमा सहमति भएको थियो’, ती नेताले भने, ‘सोही नाम आजको केन्द्रीय कमिटी बैठकमा पेस गरिएको हो ।

केन्द्रीय कमिटी वैठकमा आवश्यक छलफलपछि आजै पार्टीको नाम परिवर्तन गर्ने निर्णय हुनसक्ने नेताहरुले बताएका छन् । माओवादीले अन्य पार्टीबाट आफ्नो पार्टीमा आउनेहरुलाई सहज हुने गरी दलको नाम परिवर्तन गर्न लागेको हो । सबै कम्युनिष्टहरुलाई समेत आकर्षण गर्न सकिने उद्देश्यले पार्टीको नाम परिवर्तन गर्न लागिएको जनाइएको छ ।

फागुन २३ गते सर्वोच्च अदालतले नेकपा नामलाई बैधानिकता नदिई एमाले र माओवादी केन्द्र ब्युँताएको बसेको पहिलो केन्द्रीय समिति बैठकले नामको टुंगो लगाउने बताए ।