ओलीको एकलौटी निर्णयविरुद्ध वामदेव गौतमको देशव्यापी भण्डाफोर अभियान

काठमाडौं,‘नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियान’ का संयोजक वामदेव गौतमले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आफूखुशी गरेको निर्णयविरुद्ध देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने भएका छन् ।

सर्वाेच्च अदालतले आफूहरूको नेकपा खारेज गरेसँगै आफू एमाले एकता अभियानमा रहेको गौतमले जानकारी गराएका छन् । शनिबार अभियानको आकस्मिक बैठक राख्दै गौतमले ओलीले आफू निकट केन्द्रीय सदस्यहरूको बैठक राखी पार्टीको विधान विपरीत जथाभावी पद र जिम्मेवारी खोस्ने तथा केन्द्रीय सदस्य थप्ने गरेको निष्कर्ष निकालेका छन् ।

केपी ओलीले शुक्रबार गरेको घोषणाले उनको नेतृत्व क्षमताको धज्जी उडाएको मात्र नभई उनमा विकास हुँदै गएको व्यक्तिवाद, अहंमतावाद, स्वच्छन्दतावाद, पुरोहितवाद जस्ता प्रवृत्तिले कम्युनिष्ट आन्दोलनलाई नै समाप्त पार्ने दिशामा धकेलिरहेको अभियानका सचिव बाबुराम थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘अतः नेपाल कम्युनिष्ट पार्टी एमालेलाई एक ढिक्का गलत निर्णयलाई सच्याएर नवौं महाधिवेशनबाट पारित विधान र राजनीतिक प्रतिवेदनका आधारमा पार्टी पंक्तिलाई सञ्चालन गर्न जोडदार अपिल गर्दर्छौंं ।’