वानेश्वरमा नेपाल–खनाल समूहको स्थायी कमिटी वैठक
काठमाडौं, नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालतर्फका स्थायी कमिटी सदस्यहरुको बैठक बानेश्वरस्थित एक होटलमा बसिरहेको छ । ११ बजे बोलाइएको केन्द्रीय सदस्य एवम् सांसदहरुको बैठकमा प्रस्तुत हुने एजेण्डाबारे छलफल गर्न स्थायी कमिटीका सदस्यहरुको बैठक बसिरहेको नेताहरुले जानकारी दिएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले खनाल–नेपाल तर्फका नेताहरुलाई भूमिकाविहीन बनाउने र पदाधिकारी खारेज गर्ने निर्णय गरे यो समूहले समानान्तर कमिटी बनाउने घोषणा गरिसकेको छ । ओलीको निर्णय अस्वीकार गर्ने निष्कर्ष निकालेको यो समूहले केन्द्रीय कमिटी सदस्य र सांसदहरुसहित बसेर थप योजना बनाउने तयारी गरेको छ ।
शुक्रबार बैठक राखेर ओलीले नवौं महाधिवेशनबाट चुनिएका अध्यक्ष र महासचिवबाहेक अरु पदाधिकारीहरूको पद खारेज खारेज गर्नुका साथै जिम्मेवारी हेरफेर गरेका थिए । यस्तै माओवादीमा नफर्किएका रामबहादुर थापा बादल, मणि थापा, टोपबहादुर रायमाझीलगायत नेताहरुलाई ओलीले केन्द्रीय कमिटीमा ल्याउनुका साथै जिम्मेवारी समेत दिएका छन् ।
ओलीको यो निर्णयपछि रुष्ट बनेको नेपाल समूहले चैत ४ गतेका लागि राष्ट्रिय भेला समेत बोलाइसकेको छ भने समानान्तर कमिटी बनाउने घोषणा पनि गरेको छ । ओलीले पार्टी फुटाउने उद्देश्यका साथ शुक्रबार कदम चालेको भन्दै नेपाल समूहले निर्णय विरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वान समेत गरेको छ ।