महत्वपूर्ण घडीमा संसदीय दलको नेता चुन्दै जसपा
काठमाडौं,जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक आज (शुक्रबार) बस्दै छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने पूर्वमन्त्री तथा सांसद मोहम्मद इस्तियाक राईले जानकारी दिएका छन् ।बैठकले विधान पारित गर्ने सम्भावना रहेको उनले बताएका छन् । केही दिनअघि बसेको बैठकमा विधान बाँडिएको थियो । बैठकले आजै संसदीय दलको नेता पनि चुन्न सक्ने सम्भावना रहेको पनि उनले बताएका छन् ।
‘अघिल्लो बैठकमा विधान अध्ययनका लागि बाँडिएको थियो । आज विधान पारित हुन्छ होला । सम्भवतः आजै संसदीय दलको नेता पनि छानिन सक्नु हुन्छ’, उनले भने । गत वैशाख १० गते राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टीबीच एकीकरण गरी जसपा बनाइएको हो ।त्यसयता संसदीय दलको नेता चयन भएको छैन । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने कि नहुने भन्नेमा दुईधार देखिएको जसपा संसदीय दलको नेता चयन प्रक्रियामा प्रवेश गर्न लागेको हो ।
यसैबीच बिहीबार साँझ मात्र बालुवाटार (प्रधानमन्त्रीको निवास) मा ३ घण्टा छलफल गरेर वार्ता सकारात्मक भएको बताएका सरकार र जसपाबीच आज पनि कार्यदलस्तरमा अनौपचारिक छलफल हुँदैछ । आजको वार्ता सरकारमा जाने–नजाने निर्णायक हुनसक्ने जसपा नेताहरुले बताएका छन् ।