सुर्खेत बाहेक कर्णालीका सबै जिल्ला कोरोनामुक्त

सुर्खेत,कर्णाली प्रदेशका १० मध्ये नौ जिल्ला कोरोनाको सङ्क्रमण मुक्त भएका छन्।सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेत बाहेक सबै जिल्लामा कोरोना सक्रिय सङ्क्रिमत छैनन्।आजसम्म प्रदेशका दैलेख, कालीकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, रुकुम पश्चिम, जाजरकोट र सल्यानमा कोरोना सङ्क्रमण शून्यमा झरेको हो।

मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले सुर्खेतमा ११ सक्रिय सङ्क्रमित रहेको जनाएको छ। हालसम्म सुर्खेतमा तीन हजार २६५ जनामा सङ्क्रमण पुष्टि भएको छ। दैलेखमा एक हजार ६८५, सल्यानमा ६९३, जुम्लामा ४२३, कालीकोटमा ३३३, रुकुम पश्चिममा २५७, जाजरकोटमा १५९, हुम्लामा ६१, मुगुमा ४१ र डोल्पाका ४४ जनामा सङ्क्रमण देखिएको थियो।

अन्य प्रदेशका ५९८ तथा भारतका पाँच जनामा पनि कर्णालीमै कोरोना पुष्टि भएको थियो । प्रदेशमा हालसम्म सात हजार ५५४ जनामा कोरोना सङ्क्रमण देखिएको छ।तीमध्ये सात हजार ३८१ सङ्क्रमणमुक्त भएका हुन् । कर्णालीमा सङ्क्रमण पुष्टि भएका ३१ जनाको मृत्यु भएको छ। त्यस्तै, कर्णालीमा कोरोना भाइरसविरुद्धको २६ हजार ९९० जनाले खोप लगाइसकेका छन् ।