विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा समिति गठन

काठमाडौँ,सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि समिति गठन गरेको छ ।सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका अनुसार गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन भएको हो ।

मंगलबार पत्रकार सम्मेलन गरेर मन्त्री गुरुङले विप्लव समूहसँग वार्ताद्वारा समस्या समाधान गर्न २ सदस्यीय वार्ता टोली गठन गरेको जानकारी दिएका हुन् । उनले छिट्टै वार्ता हुने विश्वास पनि व्यक्त गरेका छन् ।

यसअघि सो समूहका महासचिव विप्लवले आमजनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्था हुनुपर्ने सर्तमा सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएका थिए ।