प्रधानमन्त्रीलाई सुरक्षा दिन नेकपा तयार छः माधव नेपाल

काठमाडौं,नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीलाई सुरक्षा दिन नेकपा तयार रहेको वताएका छन् ।मंगलबार विराटनगरमा प्रेस संगठन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सयौँ सुरक्षाकर्मीको घेरामा रहँदा पनि असुरक्षित महसुस गर्ने प्रधानमन्त्रीलाई सुरक्षा दिन नेकपा तयार रहेको बताएका हुन् ।

‘प्रधानमन्त्री देश र देशवासी सबैको सुरक्षाप्रति संवेदनशील हुनुपर्छ,’ नेपालले भने, ‘देशलाई सुरक्षा प्रदान गर्ने प्रधानमन्त्री आफैँ नै असुरक्षित हुनुभएको हो भने नेकपा सुरक्षा दिन तयार रहेको छ ।’प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरामा सोमबार गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलामा आफूमाथि शारीरिक हमला हुनसक्ने बताएका थिए।

आफूहरुमाथि सम्पूर्ण रुपले प्रहार भएको बताउँदै ओलीले भनेका थिए, ‘अन्यथा नमान्नुहोला, ममाथि शारीरिक हमला नै भयो, मेरो ज्यान तलमाथि भयो भने पनि अन्यथा नमान्नुहोला । तर त्यस्तो हुँदैन । म रहिन भने पनि अन्यथा नमान्नुहोला, पार्टी छ, विचार छ ।’नेपालले प्रतिगमनको विरुद्धमा रहेका सबै राजनीतिक पार्टीहरूसँग मिलेर देशलाई निकास दिने बताए ।