हामीलाई प्रधानमन्त्री होइन, प्रतिगमनबाट मुक्ति मात्र चाहिएको हो : अध्यक्ष नेपाल
मोरङ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले आफूहरुलाई प्रधानमन्त्री नभई प्रतिगमनबाट मुक्ति मात्र चाहिएको बताएका छन् ।
आज (मंगलबार) प्रेस संगठन मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले कांग्रेस र जसपाबाट प्रधानमन्त्री बनाउन आफूहरु तयार रहेको बताएका छन् ।‘कांग्रेससँग छलफल चलिरहेको छ । जसपाले के निर्णय गर्छ भन्ने हेर्न बाँकी छ,’ अध्यक्ष नेपालले भने, ‘प्रतिगमनविरुद्ध लडेका दलहरुबीचको सहमतिमै नयाँ सरकार गठन हुन्छ । हामीलाई प्रधानमन्त्री चाहिँदैन भनिसकेका छौं ।’
अध्यक्ष नेपालले कांग्रेस र जसपालाई प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन र आग्रह गरेको र कांग्रेस र जसपाले नल्याए आफूहरुले ल्याउने प्रस्तावमा समर्थन गर्न आग्रह गरेको बताए । उनले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने बताए । ‘कांग्रेस र जसपालाई प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुस् हामी साथ दिन्छौँ भनेका छौँ, नभए हामीले ल्याउँदा साथ दिनुस् भनेका छौं’, अध्यक्ष नेपालले भने ।