प्रतिनिधिसभा बैठकअघि सभामुखले सबै दलका नेतासँग छलफल गर्ने
काठमाडौं, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले यही फागुन २३ गते बस्ने प्रतिनिधिसभाको बैठकअघि विभिन्न दलका नेता र कार्यव्यवस्था परामर्श समितिमा छलफल गर्ने भएका छन् ।
आज (मंगलबार) प्रतिनिधिसभाको बैठक कक्षको तयारीको अवस्थाबारे अवलोकन गर्न संसद भवन नयाँ बानेश्वर पुगेका उनले संबद्ध सबै पक्षसँग छलफल गरेर बैठकलाई अगाडि बढाउने बताएका हुन् । बैठक कक्षको व्यवस्थापनको अवलोकनपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले सर्वोच्चको फैसला खुशी र गौरवको विषय भएको र संसद अधिवेशनलाई स्वभाविक लयमा सञ्चालन गर्ने बताए । केही समय संसद अवरुद्ध भएकोले खल्लो महसुस भए पनि अहिले सबैमा उत्साह जागेको बताए ।
प्रतिनिधि सभा बैठकको पूर्वसन्ध्यामा बुधबारदेखि शुक्रबारसम्म संघीय संसदका सबै सांसदहरु तथा कर्मचारीहरुलाई कोरोनाविरुद्धको भ्याक्सिन समेत लगाइँदैछ । राजनीतिक रुपमा दुई धारमा नेकपा विभाजन भए पनि कानुनी रुपमा नहुँदा आगामी प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओली पक्षीय नेकपा र प्रचण्ड–नेपाल पक्ष नेकपाबीच रस्साकस्सी हुने निश्चित देखिन्छ ।
प्रचण्ड–नेपाल पक्ष नेकपाले प्रतिनिधिसभा बैठक सञ्चालनसँगै प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेबारे गृहकार्य गरिरहेको छ ।