म्यानमारमा १८ जना प्रदर्शनकारीको मृत्यु
काठमाडौँ,म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ।संचार माध्यमकाका अनुसार प्रहरीले प्रदर्शनकारीमाथि आइतवार गोली चलाउँदा उक्त घटना भएको हो।
प्रहरीले गोली र अश्रुग्यास प्रहार गर्दा याङ्गुन लगायतका सहरमा मानिसहरू मारिएको विवरणहरूमा जताइएको छ।सामाजिक सञ्जालहरूमा आएका भिडिओ फुटेजहरूमा प्रहरीले कारबाही गर्दा प्रदर्शनकारीहरू भागिरहेको देखिन्छ। बाटो छेक्न अवरोधहरू खडा गरिएको र मानिसहरू रगतमा लतपतिएको देखिन्छ।
संयुक्त राष्ट्र संघको मानवाधिकार कार्यालयले यसलाई सैन्य शासनको विरोधमा भइरहेको प्रदर्शनका दिनमध्ये सबैभन्दा घातक दिन बताएको छ।आङ सान सू ची लगायत तत्कालीन सरकारका नेताहरूलाई अपदस्थ गरिनुका साथै उनीहरूलाई बन्दी बनाएर सेनाले सत्ता हातमा लिएपछि म्यान्मारमा व्यापक रूपमा शान्तिपूर्ण प्रदर्शन भइरहेका छन्।