श्रीलंकाको जेलमा २६ नेपाली महिला
काठमाण्डौ,करिब १ वर्षदेखि श्रीलंकाको कारागारमा रहेका २६ जना नेपाली महिला अझै केही महिना थुनामै रहने भएका छन् । कोलम्बोमा रहेको नेपाली दूतावासले रिहाईको लागि पहल गरे पनि अदालतमा मुद्धा चलिरहेको भन्दै श्रीलंका सरकारले रिहा गर्न नसकिने स्पष्ट पारेको छ ।
नेपाली दूतावासका तृतीय सचिव बालकृष्ण भण्डारीले बीबीसीलाई दिएको जानकारी अनुसार ती महिलालाई विभिन्न खाडी मुलुक लैजानका लागि एजेन्टको रूपमा काम गर्ने श्रीलङ्काली नागरिकलाई त्यहाँको प्रहरीले अदालतमा मुद्दा दायर गरेपछि अदालती प्रकृया पुरा नहुन्जेल उनीहरु छुट्ने संभावना छैन । अदालतले गर्ने फैसलाको आधारमा उनीहरुको रिहाईको टुंगो लाग्नेछ ।
भारत सरकारको कडा निगरानीका कारण दिल्लीबाट खाडी मुलुक जान असहज भएपछि श्रीलङ्का हुँदै नेपाली महिलालाई खाडी मुलुक पठाउने क्रममा ती महिलाहरु श्रीलंका पुगेको र त्यहां पक्राउ परेको बताइएको छ । स्मरणरहोस्, केही समय अघि दुई पटक गरेर श्रीलङ्काबाट १० जना नेपाली महिलालाई उद्धार गरेर नेपाल ल्याइएको थियो ।
अवैध बाटो हुँदै खाडी मुलुकसम्म जानका लागि अहिले भारतका पूर्वि राज्यहरू मिजोरम तथा मणिपुरबाट श्रीलंका, म्यान्मारको रुट प्रयोग गर्ने क्रम बढिरहेको बताइएको छ ।