‘लड्डु’ खुवाउँदै दाहाल-नेपालले मनाए संसद पुनर्स्थापनाको खुसियाली

काठमाडौं, प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक रहेको ठहर सर्वोच्च अदालतले गरेको छ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि त्यस सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेका सम्पूर्ण निर्णयहरु असंवैधानिक भएको ठहर अदालतले गरेको हो । त्यस्तै, १३ दिनभित्र संसद्को बैठक बोलाउन अदालतले आदेश जारी गरेको छ ।

सर्वोच्चको निर्णयसँग नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड माधव पक्ष) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले एक अर्कालाई लड्डु खुवाउँदै खुसियाली मनाएका छन् ।

प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरेको खुशीयालीमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले पत्रकार सम्मेलन गरेका छन् ।

अध्यक्ष नेपालले सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला स्वागतयोग्य भएको बताउँदै जनताको जित भएको फेसबुकमा समेत लेखेका छन् ।

सर्वोच्चको निर्णय आएको केही समयमा नै उनले सामाजिक सन्जालमा यस्तो प्रतिक्रिया दिएका हुन् । ‘प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जित भएको छ । संविधानका प्रावधानलाई मिचेर केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन प्रतिगमनकारी थियो ।,’ उनले लेखेका छन् ।

उनले थपेका छन्, ‘सम्मानित सर्वोच्च अदालतले संवैधानिक अपेक्षा र जनभावना अनुसार अत्यन्तै प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दछु । सम्पूर्ण नेपाली जनता, आन्दोलनमा उत्रेका राजनीतिक दलहरु, नागरिक समाज, मिडिया, समाजका सबै तहका जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’