प्रतिनिधिसभा पुनस्स्थापना गर्ने फैसला ऐतिहासिक : दाहाल
काठमाडौँ, नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा पुन:स्थापना गर्ने फैसला ऐतिहासिक भएको बताएका छन् ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको फैसला सुनाएपछि मंगलबार साँझ चितवनमा आयोजित कार्यक्रममा दाहालले आफूलाई गौरवको अनुभूति भएको र यो ऐतिहासिक रहेको बताएका हुन् । उनले यसअघि तोकिएका विरोध कार्यक्रमलाई देशभर विजय जुलुसका रुपमा मनाउन अपील गरे । “अब हाम्रो विरोध प्रदर्शन विजय र्यालीमा परिणत भयो । हामी यहाँ प्रवेश गर्ने वित्तिकै बडो गौरवको फैसला आयो, यो ऐतिहासिक छ । म पार्टीको तर्फबाट देशभरि भएका साथीहरुलाई विजय र्याली गर्न विशेष अपील गर्छु ।”
उनले संसद् पुनस्स्थापना सबैको जित भएको उल्लेख गर्दै विभिन्न राजनीतिक दल, पार्टीका नेता, कार्यकर्ता, नागरिक समाज, बुद्धिजीवी लगायत उत्रिएका सबै जनालाई बधाई र धन्यवाद दिए । अब राजनीतिक दलहरुबीच सहमति र समझदारी गरी अगाडि बढ्ने भन्दै दाहालले यो आफूहरुको लडाइँ कुर्सीको नभएको भनाइ दोहोर्याए । उनले नेकपा केपी ओली समूहमा लागेकाहरुलाई आफू नेतृत्वको पार्टीमा फर्कन समेत अपीले गरे ।