जग्गा माग्दै मुख्यमन्त्री कार्यालय अगाडि वादी समुदायको धर्ना

सुर्खेत,कर्णालीका वादी समुदाय व्यवस्थित बसोबासको माग गदै मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका छन् । खेती गर्न स्थायी लालपूर्जासहितको जमिन, बस्नका लागि घर र रोजगारीको माग गर्दै उनीहरु धर्नामा बसेका हुन् ।कालिकोट र दैलेखबाट पैदल हिँडेर ४०२ जना नागरिकहरु सोमबार राति ८ बजे मुख्यमन्त्री कार्यालयको गेटमा पुगेर धर्नामा बसेका थिए।

आफ्ना माग पूरा नहुँदासम्म मुख्यमन्त्री कार्यालयको गेट नछोड्ने उनीहरुको अडान रहेको छ ।स्थायी पूर्जासहितको जमिन, वस्ने बास र रोजगारीको ग्यारेन्टी नहुँदासम्म घर नफर्किने वादी अधिकार संघर्ष समितिका अध्यक्ष प्रेम वादीले बताएका छन् ।‘स्थानीय सरकारले आफ्ना माग सम्बोधन नगरेको समेत गुनासो सुनाए । त्यसैले बस्ती नै उठाएर यहाँ धर्नामा वस्न आएका हौं,’ उनले भने, ‘हाम्रा माग पूरा नभएसम्म हामी घर फर्किँदैनौं ।’

अध्यक्ष प्रेम वादीका अनुसार कालिकोटकोटबाट हिँडेका २०० जना अझै आइपुग्न बाँकी नै रहेका छन् । दैलेखबाट आइतबार बिहान ७ बजे हिँडेर सोमबार राती ८ बजे आफूहरु वीरेन्द्रनगर आइपुगेको उनले बताए ।माछा मार्ने, बालुवा चाल्ने, मादल र सुल्पा बनाएर गुजारा चलाउने यो समुदाय पछिल्लो समय संकटमा छ । उनीहरुसँग उत्पादन गरेर खाने खेतीयोग्य जमिन छैन ।

‘हाम्रो बस्ने जमिन छैन । भारी बोक्दै, माछा मार्दै जीविका चलाएका थियौँ,’ स्थानीय हिक्मत वादीले भने, ‘ठेकेदारले खोला पस्न दिँदैनन्, मादल र सुल्पा बिक्री हुँदैन, माछा मार्न स्थानीय सरकारको अनुमति चाहिन्छ ।’‘केही विकल्प नभएपछि जग्गा र घर माग्दै प्रदेश सरकारको अगाडि धर्ना बस्न आएका हौं,’ उनले थपे ।‘दैलेखमा मात्रै ६६९ परिवार वादी समुदायको बसोबास छ । ती मध्ये केहीलाई सरकारले जनता आवास कार्यक्रममार्फत घर बनाएर दिएको छ । तर, ती घर वर्षेनी परिवारको संख्या बढ्दै गएपछि साँघुरो हुन थालेको छन् । एउटा घरमा पाँचजना मात्रै अटाउँछन् ।’ धर्नामा बसेका उनले भने ।

सरकारको आग्रह अस्वीकार

प्रदेश सरकारका प्रतिनिधि आएर वीरेन्द्रनगरस्थित कभर्ड हलमा बस्ने बन्दोबस्त गर्न खोजे पनि उनीहरुले अस्वीकार गरेका छन् ।मुख्यमन्त्री कार्यालय अगाडिको खुल्ला चौरमा भोकै रात बिताएका उनीहरुलाई प्रदेश सरकारका प्रतिनिधिहरुले मंगलबार बिहान कभर्ड हलमा बस्न आग्रह गरेका थिए । तर, उनीहरुले सरकारले आफ्ना माग सम्बोधन नगरेसम्म त्यहाँबाट नहट्ने अडान लिएका छन् ।

मुख्यमन्त्री कार्यालय अगाडि नै वादी समुदायले धर्ना दिएपछि उक्त क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रहरी घेराभित्र रहेका उनीहरुलाई पिउने पानी, खानपानको व्यवस्था तथा शौचालयको समेत समस्या छ ।‘आजसम्म चिसोमै दिनहरू बितायौँ, एक रातको लागि कतैपनि जाँदैनौं । हाम्रो माग पूरा नभए सम्मा हामी यहीँ बसेर धर्ना बस्छौँ,’ हिम्मत वादीले भने ।

आज बिहान नेपाल दरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले उपलब्ध गराएको खाद्यान्नले छाक टारेको उनीहरुको भनाइ छ । कालिकोट र दैलेखबाट भोकभोकै हिँडेर आएका उनीहरुलाई विष्टले खाना पकाउनका लागि ग्याँस, दाउरा, खाद्यान्न र खानेपानी उपलब्ध गराएका छन् ।
खुल्ला चौरमा चिसोमा भोकभोकै सुतेको देखेपछि खाद्यान्न र अन्य सामग्रीहरु उपलब्ध गरेको विष्टले बताए ।

हामीलाई जग्गा दिने अधिकार छैनः मन्त्री भण्डारी

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले प्रदेश सरकारलाई आफैं निर्णय गरेर जग्गा दिने अधिकार नभएको बताए ।जग्गा सम्बन्धीको सबै अधिकार संघ र स्थानीय तहमा भएकाले प्रदेश सरकारले चाहेर पनि केही गर्न नसक्ने उनको भनाइ छ ।

‘मैले उहाँहरु स्वय्मलाई पनि भेटें, माग जायज छ । तर, उहाँहरुको माग पूरा गर्ने अधिकार हामीलाई छैन्,’ मन्त्री भण्डारीले भने, ‘हामी तत्काल प्रदेश मन्त्रिपरिषद्को बैठक बसेर समस्या समाधान गर्न पहल गर्छौं ।’

‘भूमी सम्बन्धी समस्या समाधान गर्न आयोग पनि बनेका छ । त्यहाँ गएर निवेदन दिन पनि हामीले आग्रह गरेका छौं,’ उनले थपे ।