नागरिकता र परिचयपत्रसहित आयोग जाने प्रचण्ड-नेपाल पक्षको तयारी

काठमाडौं,नेकपा प्रचण्ड-नेपाल पक्ष आज बहुमत केन्द्रीय सदस्यको नागरिकता र परिचयपत्र सहित निर्वाचन आयोगमा जाने भएको छ ।निर्वाचन आयोगले प्रतिनिधिसभा विघटन भएपछिको नेकपाका दुवै पक्षका निर्णय अमान्य भनेपछि पुन पार्टीको आधिकारिकता दाबी गर्दै प्रचण्ड-नेपाल पक्ष आयोग जान लागेको हो ।

आफूसँग स्पष्ट बहुमत हुँदा पनि आयोगले आधिकारिकता नदिएपछि प्रचण्ड-नेपाल पक्षले केन्द्रीय कमिटीका नेताहरुको नागरिकता र परिचयपत्र आयोगलाई बुझाउने तयारी गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।उक्त निर्णय गर्नको लागि अहिले पेरिसडाँडामा स्थायी कमिटी बैठक बसिरहेको छ ।

पेरिसडाँडास्थित प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कार्यालयले विहीवारै केन्द्रीय सदस्यहरुलाई आफ्नो नागरिकता र परिचयपत्रसहित उपस्थित हुन सूचना पठाएको थियो । सो सूचनापछि काठमाडौं बाहिर रहेकाहरु पनि काठमाडौं आउँदैछन् ।

आयोगलाई दबाब दिने उद्देश्यले प्रचण्ड-नेपाल पक्षले केन्द्रीय सदस्यहरुलाई पेरिसडाँडामा भेला हुन सूचना गरेको छ । सबै भेला भएपछि प्रचण्ड र माधव नेपाल सहित निर्वाचन आयोगमा जाने तयारी छ ।