नेपालमा पुनः वैदेशिक हस्तक्षेप बढ्दैछः नारायणकाजी श्रेष्‍ठ

काठमाडौँ,नेकपा प्रचण्ड-नेपाल पक्षका प्रवक्‍ता नारायणकाजी श्रेष्‍ठले नेपालमा वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको जनाएका छन् ।बुधबार सामाजिक सञ्‍जालमार्फत प्रवक्‍ता श्रेष्‍ठले देश गम्भिर संकटबाट गुज्रँदै गएको उल्लेख गर्दै नेपालमा पुनः वैदेशिक हस्‍तक्षेप बढेको बताएका छन् । सत्तास्वार्थले अन्धा भएका निरङ्कुश तत्वहरुले बिदेशी शक्तिलाई आमन्त्रण गर्ने प्रवृत्तिको पुनरावृत्ति भैरहेको उनको भनाई छ ।

‘देश गम्भिर संकटबाट गुज्रदैछ।संविधान र लोकतन्त्रमाथि मात्र प्रहार भइरहेको छैन ,पुनस् वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको छ ।’ उनले भनेका छन्, ‘सत्तास्वार्थले अन्धा भएका निरङ्कुश तत्वहरुबाट बिदेशी शक्तिलाई आमन्त्रण गर्ने र तिनको आडमा अघि बढ्ने प्रवृत्तिको पुनरावृत्ति भैरहेको छ। बिदेशी शक्तिहरु कमजोर सत्ता र राजनीतिक अस्थिरताबाट कसरी आफ्नो स्वार्थ पुरा गर्न सकिन्छ भनेर सुक्ष्म ब्यबस्थापनमा चासो दिदै क्रमशः हस्तक्षेप बढाइरहेका छन्।’

उनले प्रतिगमन र वैदेशिक हस्तक्षेपलाई परास्त गर्न सम्पुर्ण शक्ति एकजुट हुन पनि आग्रह गरेका छन् । उनले भनेका छन्,‘सम्पुर्ण देशभक्त शक्तिहरु एक होऔं ।प्रतिगमन र वैदेशिक हस्तक्षेपलाई परास्त गरौं । राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गरौं ।’