कांग्रेसको बैठक बस्दै, महाधिवेशन र आन्दोलनबारे छलफल गरिंदै

काठमाडौं,  १४औं महाधिवेशन र प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका विषयमा छलफल गर्न आज (बुधबार) प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बैठक दिउँसो २ बजे बस्ने जानकारी दिएका छन् । बैठकमा १४ औं महाधिवेशनबारे छलफल हुने उनले बताएका छन् । कांग्रेसले फागुन ७ देखि महाधिवेशन गर्ने गरी यसअघि कार्यतालिका ल्याएको थियो । महाधिवेशन यसअघि तोकिएको मितिमा सम्भव नभएपछि कांग्रेसले महाधिवेशनको नयाँ मिति तय गर्न लागेको हो ।सभापति शेरबहादुर देउवाको कार्यकाल पनि सकिन लागेको छ । फागुन १९ गतेसम्म देउवा नेतृत्वको कार्यसमितिको कार्यकाल छ । कांग्रेसले कार्यकाल थप गर्न संविधानको साहरा लिनुपर्छ । कांग्रेसलाई थप छ महिना कार्यकाल थप गर्ने बाटो खुला हुन्छ ।

कांग्रेसले क्रियाशिल सदस्यता वितरण र नवीकरणको काम सकेको छैन । अहिलेसम्म अर्घाखाँची जिल्लाले मात्रै क्रियाशील सदस्यता टुंग्याएर विवरण केन्द्रीय कार्यालयमा बुझाएको छ । क्रियाशील सदस्यता वितरण तथा नवीकरण र समायोजन विवाद देखिएका क्षेत्रमा हल गर्नेबारे पनि आजको केन्द्रीय कार्यसमितिमा छलफल हुने कांग्रेसले जनाएको छ ।यता प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि कांग्रेसले पनि विरोधका कार्यक्रम गर्दै आएको छ । तर कांग्रेसको आन्दोलन प्रतिनिधिसभा पुनः स्थापनाका लागि सशक्त हुन सकेको छैन । प्रतिनिधि सभा विघटनविरुद्ध सशक्त सडक आन्दोलन गर्ने कि नगर्ने भन्ने विषयमा कांग्रेसका शीर्ष नेताहरुबीच नै साझा धारणा बन्न सकेको छैन ।

कांग्रेस सभापति सर्वोच्चमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दामा आफूहरु नबोल्ने बताइरहेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले बैसाखका लागि घोषणा गरेको चुनाव कांग्रेसले उपयोग गर्नुपर्ने बताइरहेका छन् ।यता कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, गगन थापा, प्रकाशमानसिंहलगायतका नेता भने प्रतिनिधिसभा पुनः स्थापनाका लागि कांग्रेसले सशक्त सडक आन्दोलन गर्नुपर्ने बताइरहेका छन् । प्रतिनिधिसभा विघटन, चुनाव र सडक आन्दोलनका विषयमा अलमल देखिएको कांग्रेस वैठकमा आज यी विषयमा पनि छलफल हुने बताइएको छ ।