तीनजना पत्रकारलाई सामुदायिक पत्रकारिता पुरस्कार
काठमाडौं,नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय सञ्जाल ९इञ्जा०द्वारा स्थापित एक लाख राशीको सामुदायिक पत्रकारिता पुरस्कार २०२० बाट तीन जना पत्रकार पुरस्कृत हुने भएका छन्।कान्तिपुर दैनिकका बझाङ सम्वाददाता वसन्तप्रताप सिंह, राष्ट्रिय समाचार समितिकी रुपन्देही समाचारदाता नीरा गौतम र नेपाल टेलिभिजनकी दोलखा सम्वाददाता मन्दिरा थापालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको छ।
इञ्जाको आह्वान अनुरुप प्राप्त निवेदनहरूमध्येबाट निर्णायक टोलीले पत्रकारत्रय सिंह, गौतम र थापालाई पुरस्कृत गर्ने निर्णय गरेको हो। अमेरिकाको भर्जिनिया निवासी पूर्वसञ्चारकर्मी तथा सामाजिक अभियन्ता सुनिता खत्रीले इञ्जा सामुदायिक पत्रकारिता पुरस्कारको प्रायोजन गर्दै आएकी छिन्।
सिंहलाई कान्तिपुर दैनिकमा प्रकाशित साइपालका एकै गाउका ३०० दृष्टिविहीनहरूको रिपोर्टिङ साइपालको अध्यारो संसार’ र सो समाचार प्रकाशित भएपछि समाचार प्रभावकै कारण आंखाको शल्यक्रिया भइ आंखा देख्नसक्ने भएको फलोअप रिपोर्टिङ ‘फर्कियो साइपालमा खुसी’का लागि सो पुरस्कार प्रदान गरिएको हो।
रुपन्देहीकी नीरा गौतमले सेतोपाटीमा प्रकाशित गर्भमा नै मारिन्छन् छोरी’ शीर्षक समाचारका लागि सो पुरस्कार प्राप्त गरेकी हुन्। तराइमा दाइजो प्रथाको कारण छोरी जन्माउन नचाहने अभिभावकहररूको संख्यामा वढोत्तरी हुँदैजाँदा अहिले कसरी तराइमा महिला र पुरुषको जनसंख्या असमान बन्दैगएको छ र यसले कस्ता दुरगामी असरहरु निम्त्याउंदै छ भन्ने देखाइएको छ ।
दोलखाकी मन्दिरा थापालाई नेपाल टेलिभिजनमा प्रसारित ‘लकडाउनका समयमासमेत दोलखामा ८ जना महिला तथा वालवालिकामाथि वलात्कार भएको’रिपोर्टका लागि सो पुरस्कार प्रदान गरिएको हो। लकडाउनका कारण रोजगारीका सिलसिलामा जिल्ला बाहिर गएका मानिसहरू गाउमा फर्किएपछि बलात्कारका घटनामा पनि बृद्धि भएको रिपोर्टले देखाउँछ।
इञ्जाले यसअघि नै खोजी पत्रकारिता पुरस्कार नागरिक दैनिकका संवाददाता टपेन्द्र कार्की र लोकान्तर डटकमका समाचार सम्पादक सुशिल पन्तलाई प्रदान गर्ने सार्वजनिक गरिसकेको छ।यस्तै यो वर्षको उत्कृष्ट साहित्यिक कृति पुरस्कार पत्रकार तथा साहित्कार राजेन्द्र पराजुलीद्वारा लिखित संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’लाई प्रदान गर्ने यसअघि नै घोषणा भइसकेको छ। इञ्जाले यी तिनै विधाका पुरस्कारहरु आगामी मार्च १ मा काठमाडौंमा आयोजना हुने विशेष समारोहमा प्रदान गर्ने जनाएको छ।