न्यायाधीशकै अगाडि कर्मचारीको मुक्का हानाहान
काठमाडौँ,काठमाडौँ जिल्ला अदालतमा इजलास अधिकृत र फाँटका कर्मचारीबीच कुटाकुट भएको छ ।सोमबार न्यायाधीश प्रकाशचन्द्र अधिकारीकै सामुन्ने १४ नम्बर इजलासमा इजलास अधिकृत गोकर्ण शर्मा र नायब सुब्बा नेत्रप्रसाद बाँस्तोलाबीच हात हालाहाल भएको थियो । स्रोतका अनुसार विवादको मुख्य कारण अदालतको कुन व्यहोराको आदेशमा सही गर्ने भन्ने रहेको थियो ।
सरकारी छाप कीर्ते समेतको मुद्दामा यसअघि न्यायाधीश अधिकारीले नै आदेश गरिसकेका थिए। आदेश अनुसार मालपोत कार्यालयलाई पहिले पत्राचार गर्ने वा कार्यालय प्रमुखलाई नै गर्ने भन्ने ब्यहोरा विवाद मुख्य थियो। उक्त आदेशमा इजलास अधिकृत शर्माले सुरुमा कार्यालयलाई पत्र काट्नुपर्ने अडान राखेका थिए भने नायब सुब्बा बास्तोलाले सिधै कार्यालय प्रमुखलाई बोलाउने गरी पत्र काट्नुपर्ने अडान राखेका थिए । त्यसपछि दुई पक्षबिच मुक्का हानाहानको स्थिती सिर्जना भएको थियो ।
उक्त विवादका कारण केही समय अन्य इजलास पनि प्रभावित भएका थिए । मुक्का हानाहानको क्रममा नाकमा चोट लागेका शर्माको ट्रमा सेन्टरमा उपचार भएको छ । इजलासले नायब सुब्बा बास्तोलालाई घटनाबारे जवाफ दिन आदेश नै गरिसकेको छ। बास्तोलाले भने छानबिन गरिपाउँ भनी अर्को निवेदन दर्ता गरिसकेका छन्। आज उक्त विषयमा छानबिन हुने बताइएको छ ।