ओलीले शक्ति प्रदर्शनको नाममा सरकारी ढुकुटी रित्याउँदै : चित्रबहादुर केसी
काठमाडौं, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शक्ति प्रदर्शनको नाममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी ढुकुटी रित्याइरहेको बताएका छन् ।
‘ओलीले स्वच्छन्द तरिकाले विभिन्न संवैधानिक तथा राजनीतिक नियुक्त गर्दै गइरहेका छन् । उनलाई आफ्नो असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमप्रति गल्तीको बोध भएको छैन’ अध्यक्ष केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘झन् उनले आफ्नो कदमलाई सही ठह¥याउन र आफ्नो पार्टीबाट फुटेकाहरूलाई चुनौती दिन उनकै भाषामा शक्ति प्रदर्शन गर्न राष्ट्रिय कोष रित्याइरहेका छन् ।’
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधि सभा विघटनविरुद्ध संयुक्त आन्दोलन गर्नुपर्नेमा जोड दिएका छन् ।‘आन्दोलनलाई अझ ब्यापक, एकीकृत र सशक्त पार्नको लागि हामीले राजावादी बाहेक नेपाली कांग्रेस, नेकपा (प्रचण्ड–माधव पक्ष), जनता समाजवादी पार्टीलगायतका राजनीतिक दल, विभिन्न संगठन, संस्था, नागरिक समाज, पत्रकार लगायतका जनतप्काहरुसँग मिलेर संयुक्त कार्यक्रम गर्न जोड दिनु पर्छ । त्यसको लागि पनि हाम्रो प्रयास हुनुपर्छ र हुनेछ’ सोमबार विज्ञप्ति प्रकाशित गरी अध्यक्ष केसीले भनेका छन् ।
उनले सर्वोच्च अदालत र निर्वाचन आयोग जस्ता संवैधानिक र स्वायत्त निकायहरुलाई अनुचित तरिकाले प्रभाव पार्न प्रयत्न गरेको आरोप पनि लगाएका छन् । ‘केही दिन अघि निर्वाचन आयोगमा राज्यको कार्यकारी प्रमुख आफै गएर आयोगलाई दबाब दिएका छन् । त्यसकारण आन्दोलनलाई अझ ब्यापक र घनिभूत पार्दै जानुपर्ने आवश्यकता भएको छ’ विज्ञप्तिमा भनिएको छ । राजमोले संसद विघटनविरुद्ध आफ्नो पार्टीले सञ्चालन गरिरहेको आन्दोलनलाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।