वृद्धा भत्ता अब एक महिनाको पाँच हजार दिन्छौं : उपप्रधानमन्त्री पोखरेल

बुटवल, उपप्रधानमन्त्री ईश्वर पोखरेलले वृद्धाभत्ता मासिक पाँच हजार पुर्‍याउने सरकारको लक्ष्य रहेको बताएका छन् । चिशङ्खुगढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनसभालाई सम्बोधन गर्दै उनले सरकारले अघिल्लो निर्वाचनमा वाचा गरेअनुसार वृद्धाभत्ता मासिक पाँच हजार रुपैयाँ दिने बताएका हुन् ।

गत आर्थिक वर्षबाटै सामाजिक सुरक्षा भत्तामा बढावा दिने तयारी गरिए पनि पार्टीभित्रको एउटा समूहले विरोध जनाएका कारण त्यो सम्भव नभएको भन्दै उनले आगामी दिनमा सरकारले लक्ष्यअनुसार काम गर्ने उल्लेख गरे । उपप्रधानमन्त्री पोखरेलले काम गर्न नदिएर सरकारलाई असफल बनाउने र मुलुकलाई पछाडि धकेल्ने प्रयास गरेकाले ताजा जनादेशमा जानु परेको बताए। विकास र समृद्धिका अभियान निरन्तर अघि बढ्ने उनको भनाइ थियो ।

उनले अघिल्लो निर्वाचनमा प्रधानमन्त्री ओलीको हस्ताक्षरबाट उम्मेदवारी सिफारिस भएको स्मरण गर्दै विगतदेखि नै पार्टीको नेतृत्व ओलीले गरेकाले अहिले पनि ओली नेतृत्वको नेकपा नै आधिकारिक हुने बताए । सूर्य चिह्न पनि ओली नेतृत्वको नेकपाकै हुने उनले जिकिर गरे ।

खानेपानी तथा सरसफाइमन्त्री मणि थापाले खानेपानीको समस्या समाधान गर्ने बताए । ओखलढुङ्गासहितका पहाडी जिल्लामा खानेपानीको अभाव देखिएकाले त्यसको समाधानमा सरकार जुटेको बताए । प्रधानमन्त्रीको नेतृत्वमा मुलुकको विकास अघि बढेको जिकिर गर्दै थापाले वर्तमान सरकारको विरोध गर्नेहरु विकासका बाधक बनेको आरोप लगाए ।