चीनमा बीबीसीको प्रसारणमा प्रतिबन्ध

एजेन्सी,चीनले बीबीसी वर्ल्ड सर्भिस टेलिभिजनको प्रसारणमा प्रतिबन्ध लगाएको छ ।चीनको राष्ट्रिय रेडियो तथा टेलिभिजन प्रशासनले शुक्रबार विज्ञप्ति जारी गर्दै ‘झूटो’ र ‘अनुचित’ सामग्री प्रसारण गरेको भन्दै बीबीसीलाई चीनमा प्रसारणमा प्रतिवन्ध लगाएको जनाएको छ ।

केही हप्ताअघि चीन सरकारले कोभिड(१९, वुइघुर मुस्लिमको बाहुल्यता रहेको पश्चिमी सिन्जियाङ प्रान्तमा प्रणालीगत बलात्कार, यौन र श्रम शोषण भइरहेको भन्दै बिबिसीले प्रसारण गरेका रिपोर्टको आलोचना गरेका थिए। बिबिसीका रिपोर्ट निराधार रहेको उल्लेख गर्दै उनीहरूले बिबिसीले गलत सूचना प्रवाह गर्न केही मानिसहरूलाई प्रयोग गरेको बताएका थिए।

यता, बेलायतको विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै चीनमा इन्टरनेट र मिडयामाथि कडा प्रतिबन्ध लागू भएको बताएको छ । बेलायती विदेश मन्त्रालयले चीनको पछिल्लो निर्णयले विश्वसामु उसको छवि गिराउने प्रतिक्रिया दिएको छ ।

गएको हप्ता बेलायती सञ्चारमाध्यम नियामक निकाय अफकमले चीन सरकारको नियन्त्रणमा रहेको सीजीटीएन टेलिभिजनको प्रसारण लाइसेन्स निलम्बित गरेको थियो । त्यसैको प्रतिक्रियास्वरुप चीनले बीबीसीको वर्ल्ड सर्भिसमाथि प्रतिबन्ध लगाइएको विश्लेषण गरिएको छ ।