नेतृ झाँक्रीलाई अविलम्ब रिहा गर्न प्रचण्ड–नेपाल पक्षको माग

काठमाडौं,नेकपाको प्रचण्ड–नेपाल पक्षले रामकुमारी झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न माग गरेको छ।राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले राज्यविरुद्धको कसुर गरेको आरोपमा बिहीबार विहान झाँक्रीलाई शंमखुलस्थिच निवासबाट पक्राउ गरेको थियो । पक्राउ गरे लगत्तै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले एक विज्ञप्ति प्रकाशित गर्दै झाँक्रीलाई निःशर्त रिहा गर्न माग गरेका हुन्।

प्रवक्ता श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै भनेका छन्,‘लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन सक्दैनन् भन्ने तथ्य स्पष्ट हुँदाहुँदै पनि राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिताबाहेक केही होइन ।’

लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन नसक्ने भन्दै श्रेष्ठले रामकुमारी पक्राउको घोर निन्दा तथा भत्सर्ना गरेका छन् । ‘हाम्रो पार्टी सरकारको यस हर्कतको घोर निन्दा तथा भत्सर्ना गर्दै केन्द्रीय कमिटी सदस्य कमरेड रामकुमारी झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न जोडदार माग गर्दछ।’ विज्ञप्तिमा उल्लेख छ ।