दाङको सुकवारमा शिवलक्ष्मीद्वारा सत्यनारायणको पुजा कार्यक्रम सम्पन्न

दाङ,दाङको घोराही उप-महानगरपालिका-७ सुकवारमा शिवलक्ष्मी चौधरीद्वारा सत्यनारायणको पुजा कार्यक्रम मंगलबार सम्पन्न भएको छ । सत्यनारायण पुजाको शिवसवरी धामकी गुरु शिवलक्ष्मी चौधरीले गरेकी थिइन् । नेपालमा पहिलो पटक महिला गुरूबाट दाङको सुकवारमा सत्यनारायणको पुजा गरिएको हो ।

धामका चेला घोराही उप-महानगरपालिका-७ शुक्रबार निवासी पृथ्वीपाल चौधरी र रामकुमारी चौधरीको आयोजनामा उक्त गाउँमा पहिलो पटक सत्यनारायणको पुजा गरिएको हो ।सत्यनारायणको पुजा शिवसवरी धामकी गुरु शिवलक्ष्मी चौधरी, धामका पुजारीहरू सन्तोष बुढाथोकी, सोमिया बस्नेत र बसन्ती धामीले गरेका थिए ।सत्यनारायण पुजा आयोजक रामकुमारी चौधरीको अध्यक्षता एवम् राष्ट्रिय थारू कलाकार मञ्च दाङका बरिष्ठ उपाध्यक्ष लक्ष्मीमान चौधरीको प्रमुख आतिथ्य तथा शिवसवरी धामकी गुरु शिवलक्ष्मी चौधरीको विशिष्ट आतिथ्यमा सम्पन्न भएको हो ।

शिवसवरी धाम धार्मिक प्रतिष्ठानका उपाध्यक्ष तथा राष्ट्रिय थारू कलाकार मञ्च दाङका सचिव राजेन्द्र चौधरीको स्वागत भजन गीतबाट शुरू भएको कार्यक्रममा बोल्ने बक्ताहरूले पछिल्लो समय नयाँ पुस्ताहरूमा हराउँदै गएको धर्मप्रतिको विश्वासलाई यस्ता धार्मिक पुजाआजा कार्यक्रमले धार्मिक आस्था विश्वास बढाउने बताएका थिए ।उनीहरूले पछिल्लो समय दाङ-प्यूठान सहित देशैभर शिवसवरी धाम प्रतिको आस्था, विश्वास र शक्तिमा विश्वास बढ्दै गएकोले धामको आवश्यक प्रचारप्रसार तथा भौतिक विकासमा राज्यको ध्यान जानुपर्ने बताएका थिए ।

पुजा पछि आयोजित कार्यक्रममा रेडियो राप्ती एफएम तथा राप्ती टेलिभिजनका निमित्त समाचार प्रमुख सन्तोषकुमार गुप्ता, शिवसवरी धाम धार्मिक प्रतिष्ठानकी महासचिव धना चौधरी र धामका सचिव कमल चौधरी लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सुकवार गाउँका स्थानीय समाजसेवी डुठीराम चौधरीले धन्यबाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन राष्ट्रिय थारू कलाकार मञ्च दाङका अध्यक्ष सालिकराम चौधरीले गरेका थिए ।