ओलीले संविधानलाई कोमामा पुर्‍याउन खोजे : देव गुरुङ

काठमाडौं, नेकपाका स्थायी कमिटीका सदस्य देवप्रसाद गुरुङले ओलीले लोकतन्त्रको अपहरण गरेर मनपरीतन्त्रको शासन शुरु गरेको बताएका छन् ।‘संसद् विघटन भयो भने संविधान विस्थापित हुन्छ, संविधान अपांग हुन्छ र संविधान कोमामा जान्छ,’ उनले भने, ‘आज यो संविधान कोमामा पुर्‍याउने काम भएको छ, लोकतन्त्रको अपहरण गरेर मनपरीतन्त्रको शासन शुरु गरिएको छ ।’ प्रचण्ड–माधव समूहले काठमाडौंमा गरेको विरोध सभामा गुरुङले कामचलाउमा परिणत भइसकेको सरकारले तथानामी रूपले राजनीतिक नियुक्ति गरिरहेकोप्रति विरोध गरे ।

गुरुङले ताजा जनादेशको नाममा वैशाखमा चुनावको मिति घोषणा गरे पनि त्यो निर्वाचन नहुने बताए । ‘संविधानले पाँच–पाँच वर्षमा आवधिक निर्वाचन हुने परिकल्पना गरेको छ, त्योभन्दा अर्को निर्वाचन जनताले चिन्दैनन्, नेपाली जनताले चिन्ने भनेको आवधिक निर्वाचन मात्रै हो,’ उनले भने ।नेता गुरुङले ओलीको प्रतिगमनलाई खारेज गर्नुको विकल्प नभएको भन्दै त्यसका लागि सम्पूर्ण नेपाली जनता एकढिक्का भएर उभिनुपर्ने बताए ।

‘०१७ सालमा महेन्द्रले ‘कु’ गरेका थिए, ०५९ सालमा ज्ञानेन्द्रले ‘कु’ गरे र ओलीले त्यही कु’ को निरन्तरताको स्वरूपमा ‘कु’ गरेका छन्,’ उनले भने, ‘तर, यो कु’ हुन हामी दिँदैनौँ, हामी संविधानको रक्षा गर्न सक्षम छौँ, म सबै नेपाली जनतालाई संविधानको रक्षाको निम्ति उभिन आग्रह गर्दछु ।’ गुरुङले केपी शर्मा ओलीको ‘तानाशाहीतन्त्र’ पतन नहुँदासम्म आन्दोलन जारी रहने बताएका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा बुधबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै गुरुङले ओलीको ‘तानाशाहीतन्त्र’ लाई पराजित नगर्दासम्म आन्दोलन जारी रहने बताएका हुन् । संविधान र लोकतन्त्रको रक्षा गर्न जनता विरोधमा आउनुपर्ने उनको भनाइ थियो ।‘ओलीको तानाशाहीतन्त्र विरुद्ध, गणतन्त्र, लोकतन्त्रको रक्षाका निम्ति नेपाली जनता फेरि एकजुट हुनुपर्ने आवश्यकता छ । जबसम्म केपी ओलीको ‘तानाशाहीतन्त्र’ को पतन हुँदैन, त्यसलाई पराजित गर्न सकिँदैन तबसम्म आन्दोलन जारी रहन्छ,’ गुरुङले भने ।

नेपालको संविधानले पाँच वर्षमा हुने आवधिक निर्वाचनलाई मात्र मान्ने गुरुङको दाबी छ । ‘ताजा जनादेशको नाममा वैशाखमा चुनाव गर्ने भनिएको छ । नेपालको संविधानले पाँच वर्षको आवधिक निर्वाचन मान्छ । ओलीले वैशाखमा चुनाव गर्ने भनेको तानाशाही तन्त्र, फाँसिवादी तन्त्र कायम राख्नु हो । त्यो प्रधानमन्त्रीको रबर स्टाम्पमा बनाइने संसद् हो,’ गुरुङले भने ।