प्रधानमन्त्री ओली पुगे निर्वाचन आयोग
काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन् ।मंगलबार अपरान्ह प्रधानमन्त्री ओली आयोग कार्यालय कान्तिपथ पुगेका हुन् । निर्वाचन तयारी र नेकपाभित्रको विवादलगायतका विषयमा कुराकानी गर्न प्रधानमन्त्री ओली आयोग गएको स्रोतले जनाएको छ ।
गत पुस ५ मा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई चिरामा विभाजन भएको छ । दुवै पक्षले आफ्नो पक्ष नै आधिकारिक नेकपा भएको दाबी गरिरहेका छन् । तर, आयोगले कुनै पनि पक्षलाई नेकपाको आधिकारिकता दिन मानिरहेको छैन ।यसैबिच, सरकारले दुई चरणमा निर्वाचन गर्नका लागि प्रदेश र जिल्लाको टुंगो पनि लगाएको छ ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले आगामी वैशाख १७ गते मुलुकका ४० जिल्ला र २७ गते बाँकी ३७ जिल्लामा आमनिर्वाचन गर्ने निर्णय गरेको हो । जसअनुसार वैशाख १७ मा प्रदेश २, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका ४० जिल्ला र वैशाख २७ गते प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेश अन्तर्गत ३७ जिल्लामा निर्वाचन हुनेछ ।