भारतमा नेपाली बालिकाको बलात्कारपछि हत्या
काठमाडौँ,गत पुस २३ गते बारबर्दिया नगरपालिका ३ खुरखुरे सुकुम्बासी फाँटा बस्ने कृष्णा विक सुकुम्बासी आयोगको फारम भर्नका लागि भारतबाट नेपाल आइन् । नेपाल फर्कदा श्रीमान् खड्गबहादुर विक सहित एक छोरा र एक छोरी सकुशल छोडेर आएकी थिइन् ।माघ ९ गते जनवरी २२ तारेखको दिन उनी भारत जाँदा छोरी त के छोरीको शवसम्म देख्न पाइनन् । उनी नेपालबाट हिँडेकै दिन छोरी सुमित्रा विकको आफ्नै डेरामा घरमालिकहरुद्वारा सामुहिक बलात्कारपछि हत्या भएको थियो ।
घर जग्गा खोज्नका लागि छोरीलाई छोडेर नेपाल आएकी कृष्णाले घरमालिककै शिकार छोरी भएको पाइन् । उनले सोचेकी पनि थिइनन् घरमालिकबाटै छोरी असुरक्षित हुन्छे भनेर ।माघ ८ गते सुमित्राका बुवा खड्ग बहादुर विक मण्डवा चैनपुर बजारमा चिया बेच्न गएका थिए । उनी रातभर बजारको चौकीदारी गर्थे भने दिनभर बजार घुमेर चिया बेच्ने गर्दथे । सुमित्राको दाजु कुनै कामले बजारतिर नै गएका थिए । करिब ४ बजे तिर बहिनीलाई भोक लागेको होला भनेर दाजुले नास्ता लिएर कोठामा जाँदा बहिनी मृत अवस्थामा फेला परेकी थिइन् ।
बहिनीको शव उत्तानो अवस्थामा थियो । गलामा रातो डाम सहित बहिनी मृत फेला परेपछि उनी रुँदै बुवालाई खोज्न बजार गएका थिए ।माछा बजारको छेउमा बुवालाई भेटाएपछि उनले बुवालाई बहिनीको हत्या भएको बताए । बुवा आतिँदै कोठामा आउँदा रक्ताम्य अवस्थामा छोरीलाई मृत अवस्थामा भेट्टाए । उनले नजिकैको मेडिकलहलमा लगेर देखाउँदा छोरीको मृत्यु भएको प्रमाणित भएपछि पुनः कोठामा ल्याएका थिए ।
बुवा खड्ग बहादुर वि कले प्रहरीमा उजुरी गर्न खोज्दा घर मालिक र उनका आफन्तहरुले रोकेको मृतक बालिकाको भिनाजु नवलसिंह विकले बताए । अघिल्लो दिन घरबाट हिँडेकी आमा आउने बेलासम्म पनि पीडितको शवलाई राख्न दिएनन् ।घरमालिक सियाराम साह र उनका आफन्तले शव नजलाई राखेमा र कतै उजुरी गरेमा उनीहरुलाई पनि मारेर लाश नेपाल लगेर फालिदिने धम्की दिँदै शवलाई राती १२ बजे नजिकैको खोल्सामा जलाएको मृतक बालिकाको बुवा खड्ग बहादुरले बताए ।
‘मलाई लास नजलाएमा र छोरीको हत्या भएको कतै बताएमा मार्ने वा जेलमा कोचिदिने धम्कि दिँदै खाली कागजमा सहि गराएर जबर्जस्ती कोठाबाट छोरीको शव लगेर जलाए । मैले आमा आउने बेला सम्म शव उठाउँदिन भन्दाभन्दै पनि उनीहरुले जबर्जस्ती उठाएर जलाए’ उनले भने ।खड्ग बहादुरका अनुसार शब जलाइसकेपछि मारपिट गरेर धम्कि दिँदै घरबाट निकालेर नेपाल तर्फ लखेटेका थिए । सोही कारणले उनीहरुले तत्कालै प्रहरीमा रिपोर्ट गर्न नसकेको विकले बताए । नेपाल फर्किएपछि नेपालबाट केही साथीहरु सहित गई भारतमा उजुरी गरेको उनले बताए । हाल बुवा आमा र बालिकाको दाई भारतको मण्डवा चैनपुरमा नै छन् भने बालिकाको भिनाजु बर्दिया आएका छन् ।
घटनाको उजुरी भारतको कुण्डवा चैनपुर थानामा गत माघ २० गते फेव्रअरी २ तारिखमा दर्ता भएको छ । सामुहिक बलत्कार पछि हत्या गरीएको र प्रमाण नष्ट गराएको आरोपमा ११ जना विरुद्ध उजुरी दर्ता गरीएको मृतक बालिकाको भिनाजु नवलसिंह विकले बताए ।घटनाको बारेमा प्रेस नोट जारी गर्दै पुर्वी चम्पारण मोतीहारीका पुलिस अधिक्षकले घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरीएको जानकारी गराएका छन् । अन्यलाई पक्राउका लागि टोली खटाएको बताएका छन् ।
माघ २३ गते घटना कै बारेमा फोन रेकर्ड भाइरल भएपछि घटना लुकाउन प्रहरी नै संलग्न भएको भन्दै कुंडवा चैनपुरका थानाध्यक्ष संजीव कुमार रंजनलाई निलम्बन गरी अनुसन्धान प्रक्रियालाई अघि बढाएको छ ।पूर्वी चम्पारणका एसपी नवीनचन्द्र झाले बिबिसीसँग भाइरल भएको अडिओबाट थानाध्यक्ष सञ्जीवकुमार रञ्जनको लापरबाही र कर्तव्यहिनता स्पष्ट भएकाले उनलाई निलम्बन गरिएको बताएका छन् । उनीविरूद्ध एफआरआई दर्ता भएको उनको भनाई छ । भाइरल भएको अडिओमा सञ्जीवकुमारले एक जना अभियुक्तलाई ‘केटीको शवको व्यवस्था गरिदेऊ र चिसोका कारण मृत्यु भएको प्रहरीलाई रिपोर्ट लेखाइदेउ’ भनेका छन् ।
एसपी झाले बिबिसीलाई बताएअनुसार अहिलेसम्म दुई जना अभियुक्तलाई पक्राउ गरिएको छ । उनीहरूलाई बलात्कारपछि हत्या गरेको अभियोगमा मुद्दा चलाइएको छ । पोष्टमार्टम नगरी शव जलाइएकाले उनको हत्या कसरी भएको थियो भन्ने खुल्न सकेको छैन ।पीडित बालिकाको परिवार २०६३ साल देखि बारबर्दिया नगरपालिका वडा नं ३ को खुरखुरे सुकुम्बासी फाँटामा बसोबास गर्दै आएको छ ।
आफ्नो नाममा जग्गा जमिन नभएको र बस्नका लागि सामुदायिक वन भित्र रहेको सुकुम्बासी बस्ती सानो घर भएको कारण भारतमा ज्याला मजदुर गरेर जिविकोपार्जन गर्दै आएका थिए ।विक र उनका परिवार करिब ८ वर्ष अघिदेखि भारतको कुण्डवा चैनपुरमा बस्दै आएका छन् । हालै नेपाल सरकारले भुमि सम्बन्धी समस्या समाधान आयोगद्वारा भुमिहिनहरुको तथ्यांक संकलन गरीरहेको छ । सोही क्रममा बालिकाको आमा नेपाल आएकी थिइन् ।