सरकारले टुंग्यायो दुई चरणमा निर्वाचन गराउने जिल्ला
काठमाडौं, सरकारले वैशाख १७ र २७ का लागि घोषित निर्वाचन कसरी गर्ने भन्ने विषयमा निर्णय गरेको छ । हिजो (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले पहिलो चरणमा वैशाख १७ गते प्रदेश नम्बर–१, २, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशमा र वैशाख २७ गते बागमती र सुदूरपश्चिम प्रदेशमा निर्वाचन गराउने निर्णय गरेको हो ।
प्रधानमन्त्री ओलीले यिनै विषय जानकारी गराउँदै निर्वाचन तयारीबारे निर्वाचन आयोगमा गएर आज छलफल गर्ने शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिएका छन् । ‘देशका १३५ वटै निर्वाचन क्षेत्रमा कर्मचारी, सुरक्षा, मतपत्रलगायत विषयमा आयोगलाई सरकारले के कस्ता सहयोग गर्नुपर्छ भन्ने विषयमा प्रधानमन्त्री ज्यूले छलफल गर्नुहुन्छ,’ मन्त्री श्रेष्ठले भने ।
प्रधानमन्त्री ओली आज बिहान ११ बजे निर्वाचन आयोग जाँदैछन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाख १७ र २७ का लागि चुनाव घोषणा गरेकी छन् ।
कांग्रेस, जनता समाजवादी पार्टी, नागरिक समाजलगायत पनि संसद् विघटनविरुद्ध आन्दोलित छन् । त्यही दिनदेखि विभाजन भएका नेकपाका दुई पक्षमध्ये प्रचण्ड–नेपाल पक्ष ओलीले असंवैधानिक कदम चालेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएको छ । प्रतिगमनविरुद्ध सडक आन्दोलन गर्दै आएको नेकपाले भोेलि (बुधबार) काठमाडौंमा अहिलेसम्मकै विशाल जनसभाको तयारी गरिरहेको छ ।