सरकारी वकिललाई प्रधानन्यायाधीशको प्रश्न, ‘अहिले चुनावको वातावरण छ र ?’

काठमाडौं,  प्रतिनिधिसभा विघटनको रिटको सुनुवाइका क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले चुनावको वातावरण छ कि छैन भन्नेबारे सरकारी वकिललाई प्रश्न गरेका छन् ।आइतबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा सरकारी वकिल श्याम भट्टराईले प्रतिनिधि सभा विघटनका पक्षमा बहस गरिरहेका बेला प्रधानन्यायाधीश जबराले प्रश्न गर्दै अहिले त्यस्तो वातारवण छ र ? भन्दै प्रश्न गरेका हुन् ।

महान्यायाधीवक्ताको कार्यालयका वकिल श्याम भट्टराईले अब जनतामा जानुपर्ने बताएपछि प्रधानन्यायाधीशले प्रश्न गरे, ‘अहिले त्यस्तो वातावरण छ र ?’ जवाफमा भट्टराईले फिल्ड मात्रै हेरेर नहुने भन्दै संविधान र राजनीतिक अधिकार पनि हेर्नुपर्ने तर्क गरेका थिए । अदालतबाट विघटनविरुद्धको मुद्दामा बौद्धिक रुपमा आदर गर्न सकिने, सैद्धान्तिक रुपमा स्वीकार गर्न सकिने र व्यवहारिक खालको फैसला हुनुपर्ने उनको भनाइ थियो ।

उनले प्रतिनिधिसभा विघटन राजनीतिक प्रश्न भएको जिकिर गर्दै सबै कुरा जनताले फैसला गर्ने भनेपछि प्रधानन्यायाधीश राणाले चुनावको वातावरण भए नभएकोबारे प्रश्न गरेका थिए ।राणाले प्रतिनिधिसभा विघटनविरुद्ध सडक प्रदर्शन भइरहेको प्रति संकेत गर्दै अहिले ‘चुनावको सम्भावना छ ?’ भन्ने प्रश्न गरेका हुन् । राणाले प्रश्न गरे, ‘फ्लोरमा वातावरण हुनुपर्‍याे नि होइन ? अहिले जुन वातावरण छ, त्यो (चुनाव) सम्भावना छ ?’

जबाफमा भट्टराईले जनताले फैसला गर्ने हो कि श्रीमान भन्दै चुनावको पक्षमा माहोल रहेको तर्क गरेका थिए । प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेसँगै निरन्तर सडक तातिरहेको बेला अदालतमा पनि यसबारे कुरा उठेको हो ।
आइतबार सरकारी वकिलहरुको बहस सकिँदैछ । त्यसपछि प्रधानमन्त्रीको तर्फबाट निजी कानुन व्यवसायीले बहस शुरु गर्नेछन् ।