माइत आएकी छोरीको गोली हानी बाबुले गरे हत्या

बैतडी,  बैतडीको पुर्चौडी नगरपालिका–१० महरागाउँका ५५ वर्षीय धनबहादुर महराले आफ्नै छोरीको गोली हानी हत्या गरेका छन्। शनिबार दिउँसो करिब ३ बजेतिर २० वर्षीया छोरी बेलमति महरा धामीलाई गोली हानी हत्या गरेको स्थानीयले जानकारी दिएका छन् । भरुवा बन्दुकले छोरीको पछाडिबाट पिठ्युमा गोली प्रहार गरी हत्या गरेका महरा जंगलतिर भागेको उनको खोजीको लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले बताएका छन् । हतियारसहित भागेका उनले राति आफ्नै पुरानो घरमा आगजनी समेत गरेका छन् । मृतक बेलमतिको एक वर्षीय छोरा समेत छन् ।

बैतडीको पुर्चौडी नगरपालिका–३, जोग्गौडाकी २० वर्षीया बेलमती महरा धामी करिब एक महिना अगाडि पुर्चौडी नगरपालिका–१०, विजयपुरस्थित माइती घरमा आइन् । विवाह गरेर जोग्गौडा गएपछि बुवा आमासँग भेटघाटका लागि उनी बेलाबेला माइती आउजाउ गरिरहन्थिन् । तर यसपटक उनको माइती बसाइ अन्तिम बन्यो ।जंगलतिर हतियारसहित भागेका महराको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । एक महिनादेखि माइतमा बस्दै आएकी बेलमतिलाई किन गोली प्रहार गरे भन्ने विषयमा अझै खुलेको छैन ।

स्थानीयका अनुसार धनबहादुरले बहुविवाह गरेका छन् । यही कारण घरमा दिनहुँ कलह भइरहन्थ्यो । शनिबार पनि धनबहादुर र उनकी कान्छी श्रीमतीबीच झगडा भएको थियो ।प्रहरीका अनुसार सोही क्रममा झगडा छुट्याउन गएकी छोरी बेलमतीलाई धनबहादुरले गोली हानेका हुन् । श्रीमान् र श्रीमतीबीच भएको झगडा छुट्याउने क्रममा छोरीलाई गोली प्रहार गरेको खुलेको छ,’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले भने, ‘गोली प्रहारबाट छोरीको घटनास्थलमै ज्यान गएको हो ।’ घटनाले पूरै गाउँ शोकमा डुबेको छ ।

पुर्चौडी नगरपालिका–१० का वडाध्यक्ष जितबहादुर विष्टका अनुसार बेलमतीको एक वर्षको दुधे बच्चा (छोरा) छ । चार दिनभित्र बैतडीमा भएका दुई महिलाको बीभत्स हत्याले पूरै जिल्ला शोकमा डुबेको छ । यसअघि यही माघ १४ गते विद्यालयबाट फर्किने क्रममा दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्ट घरनजिकै हत्या गरिएको अवस्थामा फेला परेकी थिइन् ।