भागरथी हत्याको अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्छः सभापति देउवा
काठमाडौँ, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्या घटनाको तत्काल अनुसन्धान गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।शनिबार विहान सामाजिक सञ्जालमार्फत सभापति देउवाले भट्टको हत्याको खवरले निकै मर्माहित भएको बताउँदै तत्काल अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सरकारसँग जोडदार माग गरेका छने ।
‘बैतडीको दोगडाकेदार गाउँपालिक–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्याको खवरले निकै मर्माहित भएको छु। उक्त घटनाका विषयमा तत्काल अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछु।’ उनले भनेका छन् ।बुधबार घरबाट विद्यालय गएकी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर हत्या गरी फालिएको अवस्थामा नजिकैको लबलेक जङ्गलमा शव फेला परेको थियो ।
शव विभत्स अवस्थामा फेला परेकाले बलात्कारपछि हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ । घटनाको अनुसन्धान गर्न शुक्रबारदेखि तालीम प्राप्त कुकुरसहितको टोली परिचालन गरिएको छ ।