आज देशभर शान्तिपूर्ण आन्दोलन गर्दै कांग्रेस
काठमाडौँ, प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली काँग्रेसका शुभेच्छुक संस्थाहरुले आज देशभर विरोध र्याली तथा विरोध सभा गर्दैछन् ।सरकारको प्रतिगमन कमदविरुद्ध तेश्रो चरणको विरोध कार्यक्रम घोषणा गरेको कांग्रेसले आज भातृ संगठन र शुभेच्छुक संगठनहरुलाई देशभर प्रदर्शनमा उतार्न लागेको हो ।
प्रतिनिधिसभा विघटन, त्यस विरुद्धको आन्दोलन एवं आन्दोलनको शैली र संवैधानिक निकायमा गराइएको शपथ ग्रहणका विषयलाई थप गम्भीरतापुर्वक लिएर एकवद्ध भएर आन्दोलनका कार्यक्रमलाई अझ व्यापक बनाउन कांग्रेसले अपिल गरेको छ ।‘नेकपाको सरकार बनेपछि जनविरोधी कदमहरु र प्रवृत्तिविरुद्ध कांग्रेस संसद् र सडक दुवै ठाउँमा सालीन ढंगले प्रस्तुत हुँदै आयो। अनेक घटनाका बाबजुद उपत्यका या नेपाल बन्दको कार्यक्रम हामीले आयोजना गरेनौं’ प्रवक्ता विश्वप्रकाश शर्माद्वारा विज्ञप्तिमा भनिएको छ, ‘संसद विघटनको असंवैधानिक कदम विरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउने तर जनताले दुःख पाउने गरि बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्न हामी दृढ़ छौं।
विघटन विरुद्ध उभिएका सबै दल र संस्थालाई यही अपील समेत गर्न चाहन्छौं।’प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते गरिएको प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम भन्दै आन्दोलनमा रहेको कांग्रेसले यसअघि प्रतिनिधिसभा विघटनको विरोधमा पुस १३, पुस २५, माघ ३, माघ ८ र माघ १९ गते विरोध कार्यक्रम गरिसकेको छ ।