कलंकीबाट अष्टलक्ष्मी शाक्यसहित नेकपाका नेता पक्राउ
काठमाडौं, प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलाई काठमाडौंको कलंकीबाट पक्राउ गरेको छ । आमहाडताल सफल बनाउन सडकमा उत्रिएका प्रचण्ड–माधव नेपाल समूहका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । उनीसँगै हितमान शाक्य, अमृता थापालगायत नेताहरु पनि प्रहरीले पक्राउ गरेको छ ।
प्रतिनिधिसभा विघटन र संवैधानिक आयोगहरुमा असंवैधानिक रुपमा गरिएको नियुक्तिको विरोध गर्दै नेकपा प्रचण्ड–माधव समूहले आज आम हड्ताल गर्ने घोषणा गरेको छ । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत संवैधानिक निकायका पदाधिकारीहरुलाई शपथ खुवाइएको थियो ।
आयोगहरूमा सिफारिस भएका पदाधिकारीहरुको संसदीय सुनुवाइ बिना नै नियुक्ति र पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको भन्दै त्यसकै विरोधमा नेकपाले आमहड्ताल घोषणा गरेको हो । नेकपाको देशव्यापी आमहड्ताल अन्तर्गत प्रहरीले काठमाडौंबाट दर्जनौंलाई विहानै पक्राउ गरेको छ ।