उपराष्ट्रपति र सभामुखद्धारा संवैधानिक आयोगका पदाधिकारीको शपथ बहिष्कार

काठमाडौँ,उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटाले संवैधानिक आयोगका पदाधिकारीको शपथ कार्यक्रम बहिष्कार गरेका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा बुधबार बिहान शितल निवासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आयोगका अध्यक्षमा सिफारिस भएकाहरुलाई शपथ गराएका थिए ।

उक्त कार्यक्रमलाई उपराष्ट्रपति र सभामुखले बहिस्कार गरेका हुन् ।३० मंसिरमा बसेको संवैधानिक परिषद् को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष, समावेशी आयोगका अध्यक्षलगायत संवैधानिक निकायका अध्यक्षसहितका पदाधिकारी गरी ४५ जनाको नाम नियुक्तिका लागि सिफारिस गरेको थियो ।

सरकारले नियुक्ति सिफारिस गरेर संघीय संसदमा जानकारी पठाएको थियो तर, सभामुख सापकोटाले प्रतिनिधि सभा विघटन भएकाले सिफारिस सुनुवाइ गर्न नसक्ने भन्दै केही दिनअघि फिर्ता पठाइदिएका थिए। यस्तै, शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति पुन पनि सहभागी भएनन्। पूर्वमाओवादीबाट उपराष्ट्रपति बनेका पुन नेकपा दुई पक्षमा विभाजन भएपछि कार्यक्रम बहिस्कार गरेका हुन् ।