बागमतीका सांसदहरुले गरे नाराबाजी

काठमाडौँ,बागमती प्रदेशसभाको बैठक स्थगित गरेकोमा सांसदहरुले संसद् भवन बाहिर नाराबाजी गरेका छन्।आज दिउँसो २ बजेका लागि निर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने जनाउँदै सूचना टाँस गरी स्थगन भएपछि सांसदहरुले हेटौंडास्थित प्रदेशसभा सचिवालय अगाडि भेला भएर नाराबाजी समेत गरेका छन् ।

माघ ९ गते बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि सामान्य छलफल भई स्थगित भएको थियो । आजको बैठकमा उक्त छलफललाई निरन्तरता दिने कार्यसुची थियो । तर, बैठक स्थगित भएपछि विरोधमा उत्रिएका सांसदहरुले संसदलाई बन्धक बनाउन पाइँदैन भन्दै नाराबाजी गरेका छन् । उनीहरुले तुरुन्त बैठक बोलाउन माग गरेका छन् ।

प्रदेशसभा सचिव कृष्णहरि खड्काका अनुसार विशेष कारण स्थगित गरिएको बैठक आगामी फागुन २ गते दिउँसो २ बजेका लागि आह्वान गरिएको छ । वाग्मती प्रदेशसभामा नेकपाका ८०, नेपाली कांग्रेसका २२, साझा विवेकशील दलका तीन, राप्रपाका दुई, नेपाल मजदूर किसान पार्टीका दुई र स्वतन्त्र एक गरी ११० सदस्य रहेका छन् । हाल नेकपा दुई चिरामा विभाजन भएपछि मुख्यमन्त्री पौडेलको पद धरापमा परेको छ ।