ग्रामिण विकास तथा क्लिन इन्भरमेन्ट नामक संस्थाको ठगी धन्दा

जाजरकोट, ग्रामिण विकास तथा क्लिन इन्भरमेन्ट नामक संस्थाको ठगी धन्दा बाहिरिको छ । जाजरकोटका ग्रामीण बस्तिहरु बारेकोट गाउँपालिका, नलगाड नगरपालिका लगायतका दुर्गम बस्तिमा उक्त संस्थाले ठगी धन्दा चलाइरहेको बुझिएको छ । विगत केही दिन यता नगरपालिका तथा गाउँपालिका संग समन्वय गरेर ठगिरहेको प्रमाण दिनप्रतिदिन फेला परिरहेका छन् ।

जाजरकोटका दुर्गम वस्तिका प्रत्येक घरधुरीमा आफ्नो एजेन्ट पठाई एक घर एक सोलर तथा एउटा सुधारिएको चुल्हो अनुदानमा ३ हजार ७ सय ५० मात्र तिरेर उपलब्ध गराइदिने भनि गलत प्रचार गर्दै लाखौँ रकम असुलिरहेको बुझिएको छ । सो बिषयमा स्थानिय सरकार पनि अनबिज्ञ रहेको बताउदै आएका छन् । राम्रो जानकारी नलिएरै सम्झौता पत्रमा हस्ताक्षर गरिनु गाउँपालिकाको कमजोरी रहेको बारेकोटका स्थानिय वासिन्दाले बताएका छन । ग्रामिण भेगका सोझासाझा जनतामाथी लिखित कागजको खोस्टा देखाएर ठगी गरेको यो पहिलो घटना हो । यो सुचना सामाजिक संन्जालमा व्यापक रुपमा आईसकेपछि हामिले स्थानिय जनप्रतिनिधीसंग कुरा गर्ने प्रयास गरेका थियौँ ।

हामी संगको कुराकानिमा बारेकोट गाउँपालिका वडा नं १ का वडाध्यक्ष द्धारिका प्रशाद वुढाले गाउँपालिकाले कसरी सम्झौता गरेको हो भन्ने कुरा आफुलाई जानकारी नभएको बताए । ‘गाउँपालिकाले कसरी सम्झौता गर्यौ त्यो मलाई थाहाँ भएन । मैले वडामा अरुभन्दा दुई/तिन दिन ढिला नामावली संकलन गर्न लगाएको हो, उनले भने ।’ साथै आफुलाई पत्यार नलागेर संकलित रकम आफुसंगै राखेको र उक्त संकलित फिर्ता गर्ने तयारी गरिरहेको पनि वडाध्यक्ष बढाले बताए । सामाजिक संन्जालमा सो बिषयको टिकाटिप्पणी भैससकेपछि बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रले एक विज्ञप्ती जारी गर्दै ग्रामिण विकास तथा क्लिन इन्भरमेन्ट नेपाल नामक संस्थासंग कुनै संम्झौता नरहेको जनाएको छ ।

वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रसंग सहकार्य रहेको दुस्प्रचार गर्दै जाजरकोट लगायत अन्य जिल्लाका केही स्थानमा रकम संकलन गर्दै आएको पाइएको र सो विषयमा आफु संग कुनैपनि किसिमको सम्झौता नभएको बताएको छ । उक्त ठगि धन्दामा संलग्न चार जना पक्राउ समेत परेका छन् । आधिकारीक रुपमा प्रमाणित नभएको संस्थालाई विश्वास गरिनु पनि स्थानिय सरकारको कमजोरी भएको एक स्थानीयले बताए । साथै यसको सत्यतथ्य छानविन गरी दोषिलाई कडा भन्दा कडा कार्वाही गर्नुपर्ने पनि उनिहरुको माग छ ।