निर्माणाधीन पुलको मुख्यमन्त्री पोखरेलले गरे पुनः शिलान्यास
काठमाडौँ, नेकपा ओली समूहका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पाको लिवाङस्थित धाङसी खोलामा निर्माणाधीन पुलको पुनः शिलान्यास गरेका छन् ।
भौतिक प्रगति २५ प्रतिशतभन्दा बढी भइसकेको पुलको मुख्यमन्त्री पोखरेलले शनिबार पुनः शिलान्यास गरेका हुन् । लिवाङ र रोल्पा नगरपालिका–९ लाई पक्की सडकसँग जोड्ने उक्त पुलको ७ मंसिरदेखि निर्माण कार्य सुरु भएको थियो । उक्त निर्माणधीन पुलको निर्माण पक्षलाई भ्याटसहित ५ करोड बढी रकम भुक्तानीसमेत भएको छ ।
तर, निर्माणाधीन पुलको शिलान्यास गर्दै मुख्यमन्त्री पोखरेलले जनतालाई विकासमा सहभागी हुन आह्वान गरेका छन् । उनको यो हर्कत सस्तो लोकप्रियताका लागि भएको अधिकांशको आरोप रहेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक कदमका साथ प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेकपा नै दुई चिरामा विभाजन भएको छ ।
त्यसको असर विकास निर्माणका काममा समेत देखिन थालेको छ । पुनः पुल शिलान्यास गर्ने कार्यक्रममा विरोध जनाउँदै प्रचण्ड(माधव पक्षले भने निर्माण कार्य सकिने चरणमा रहेको पुलको शिलान्यास गर्ने बहानामा आफ्नो गुट भेला आयोजना गरेको आरोप लगाएको छ ।