ओलीको पतनको बाटो निश्चित भइसक्योः माधव नेपाल
काठमाडौँ,नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुसन्तानको संज्ञा दिएका छन् ।शनिबार धनगढीमा सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आयोजित बृहत विरोधसभामा सम्बोधन गर्दै नेपालले कम्युनिस्ट पार्टीमा कुसन्तानमा रुपमा ओली जन्मेको बताएका हुन् ।
ओलीलाई सुधार्नका लागी धेरै प्रयास गरे पनि सफल नभएको पनि उनले बताए । ‘समयसमयमा कहिले घरमा नचिताएको सन्तान होइन कुसन्तान जन्मिँदा रहेछन् । कम्युनिस्ट पार्टीमा त्यस्तै कुसन्तान केपी ओली बन्न पुगेका हुन्’ उनले भने, ‘ओली बिग्रिए भनेर धेरै चिन्ता नगर्नुहोस्। केपी ओली सुध्रिनेवाला छैनन् ।’
यस्तै, उनले ओलीको पतनको बाटो निश्चित भइसकेको बताएका छन्। ‘केपी ओलीको पतन निश्चित भएको छ। ओलीका फुर्ती हावामा उठिसकेको छ’ उनले भने, ‘निर्वाचन आयोगको पत्रपछि ओलीको म्यादी प्रहरी जस्ता केन्द्रीय सदस्यहरूको हिस्स बुढी खिस्स दाँत जस्तै भइसक्यो।’