अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्छः प्रचण्ड

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा विघटन नभएर ओलीको सरकार विघटन भएको बताएका छन् ।आफ्नो पक्षले शनिवार कैलालीको धनगढीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले ओली सरकारको वैधानिकता नरहेको तर प्रतिनिधि सभा ज्युँदै रहेको बताएका हुन् ।

उनले नेकपा पार्टी फुटेको नभइ ओली चोइटिएको दावी गरेका छन्। संविधानअनुसार प्रधानमन्त्रीले ५ वर्षसम्म विघटन गर्न नपाउने व्यवस्था रहेको उनको भनाई छ ।ओलीको जतिसुकै सेटिङ भए पनि सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने प्रचण्डले विश्वास व्यक्त गरे । प्रतिनिधिसभा ज्युँदै रहेको सन्दर्भमा भारतको लखनउमा घटेको एउटा घटना सुनाउँदै प्रचण्डले भने ‘म एक पटक लखनउ पुगेको थिएँ।

त्यहाँ ३र४ सय जना मानिसहरुको जुलुस रहेछ। किन रहेछ भनेर हेरेको उनीहरुले हातमा ‘हम अभी जिन्दा हैं’ लेखेको प्ले कार्ड रहेछ। यसो बुझेको त तिनीहरुका आफन्तले जालझेल गरेर तिनीहरु मरिसकेका छन् भन्दै सेटिङ गरेका रहेछन्। कागजमा उनीहरुको मृत्यु भइसकेको रहेछ । उनीहरु प्रशासनमा बुझ्न जाँदा त तपाईँहरुको मृत्यु भइसकेको छ भनेछन्। अहिले ओलीले त्यस्तै सेटिङ गरेर प्रतिनिधिसभा मृत्यु भएको भनेका छन्। तर हामी यहाँ ज्यूँदै छौं ।’

यस्तै, उनले वाम गठबन्धनको प्रस्ताव लिएर देश चलाउन खोज्ने पहिलो पात्र आफू नै भएको दाबी पनि गरेका छन् । ‘बाम गठबन्धन गरौं भन्ने पहिलो व्यक्ति मै हुँ। म नै केपी कहाँ गएको थिएँ। वाम गठबन्धन गरौं भन्दा सुरुमा केपी ओलीको मुखमा खुसी थिएन,’ उनले भने।